शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

स्थापनाको दस वर्ष पछि राष्ट्रिय बीमा कम्पनीको पहिलो साधारण सभा ! सुधार गर्ने अध्यक्ष उपाध्यायको प्रतिबद्धता

स्थापनाको दस वर्ष पछि राष्ट्रिय बीमा कम्पनीको पहिलो साधारण सभा ! सुधार गर्ने अध्यक्ष उपाध्यायको प्रतिबद्धता

३१ जेठ ,काठमाडौं । स्थापनाको दस वर्ष पछि सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय बीमा संस्थानबाट निर्जीवन बीमा व्यवसाय मात्रै गर्नेगरी छुट्टिएको यस कम्पनीले जेठ ३१ गते बुधबार आर्थिक वर्ष २०७१/०७२ को साधारणसभा गरेको हो ।

कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा शेयर सदस्यहरुको व्यापक असन्तुष्टिबिच पहिलो साधारणसभा सम्पन्न गरे पनि कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश भने वितरण गर्न सकेन । लामो समयदेखिको लेखापरीक्षण र बार्षिक साधारणसभा बाँकी हुँदा शेयरधनी लाभांश पाउने अधिकारबाट बन्चित रहँदै आएका छन् । तर कम्पनीका सञ्चालकहरुले भने लाभांशको बेला नभएको भन्दै उनीहरुलाई प्रतिक्षा गर्न सुझाव दिएका थिए ।

सभामा साविकको राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागतर्फको आर्थिक वर्ष २०६८/०६९, २०६९/०७०, र २०७०/०७१ सम्म गरी तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/०७१, २०७१/०७२, २०७२/०७३ गरी तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर पनि छलफल भयो ।

साधारणसभामा कम्पनीले शेयरधनीहरुमध्येबाट स्वतन्त्र संचालक सदस्यमा रविकुमार टिवडेवालालाई निर्विरोध निर्वाचित गर्यो ।

सो अवसरमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले लामो समयदेखि बाँकी रहेको हिसाबकिताब मिलान गरी लेखापरक्षिण सम्पन्न गर्ने,सुशासन कायम गर्ने र साधारणसभा समयमा नै बोलाउने आश्वासन दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले यहि वर्षभित्र कम्पनीको बाँकि साधारणसभा हरु सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाए । नेपाल बीमा प्राधिकरणको मापदण्डअनुसार आफूहरुले कार्ययोजना बनाई पूरानो हिसाब मिलान गर्ने र निजी क्षेत्रका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend