खबरब्रेकिंग, काठमाडौँ, जेठ २० गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ। अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ।
१० औँ महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो। घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए। टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भम्रणमा निस्केका हुन्।
भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए। जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए। घलेले सबै पंञ्जीकृत सदस्यलाई मतादानको अधिकार दिनुपर्ने अडान राखेका थिए। सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुने भएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उनले जोड दिएका थिए।
घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए। घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताएका थिए। आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। केन्द्रबिन्दुबाट साभार
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend