कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन्।
मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताएका हुन्। कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उनको भनाइ थियो ।
देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उनले बताए। मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए। सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे। धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनु पर्ने भए मन्त्रालय तयार रहेको पनि उनले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend