सिरहा । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असईसहित तीन प्रहरी भोड्का रक्सी चोरी गरेको आरोपमा निलम्बनमा परेका छन् ।
प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन ।
जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको एसके मदिरा होटलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए ।
निषेधाज्ञाका बेला भइरहेको होटेलमा होहल्ला शान्त पार्न भन्दै उनीहरुलाई खटाइएको थियो । उनीहरु पुगेपछि होटेल सञ्चालक भागेका थिए । तीनै जनाले होटेलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
सामाजिक सञ्जालमा प्रहरी संगठनको तीव्र आलोचना भएपछि जिल्ला प्रहरी कार्यालयले निलम्बन गरी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend