काठमाडौं । बहालवाला प्रधानमन्त्रीले पुनः प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्नु असंवैधानिक हुने संविधानविद्ले बताएका छन्।
वरिष्ठ अधिवक्ता शम्भु थापाले संचारकर्मी संग कुराकानी गर्दै प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी गैरसंवैधानिक भएको बताए। ‘जसले संविधानको धारा ७६ को उपधारा ३ अनुसार बहुमत पुर्याउन सकिनँ भनेर नयाँ सरकार गठनका लागि अपिल गर्न लगायो, उसैले बहुमत सांसद मसँग छन् भनेर दाबी गर्नु हास्यस्पद कुरा हो,’ उनले भने, ‘धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको अपिल ओलीबाहेकका सांसदका लागि हो।’
ओलीले ७६ को ३ मा बहुमत पुर्याउन सक्दिनँ भनिसकेको अवस्थामा फेरि प्रधानमन्त्रीमा दाबी गर्नै नमिल्ने थापाको भनाई छ । उनी भन्छन्, ओलीको ठाउँमा अन्य नेताले १५३ सांसदको हस्ताक्षर लिएर आएको भए र यसैगरी दुई जनाको दाबी परेको भएमात्रै को प्रधानमन्त्री बन्छ भन्ने प्रश्न उठथ्यो।
यस्तो अवस्थामा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री बनाउने कि देउवालाई भनेर प्रश्न गर्नु नै बेकार रहेको उनको भनाइ छ। ओली धारा ७६ को उपधारा ३ अनुसार रिङ आउट भएकाले उनी प्रतिस्प्रर्धी नै बन्न नमिल्ने वरिष्ठ अधिवक्ता थापा बताउँछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend