काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन ।जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औं स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका हुन ।
मदन–आश्रित स्मृति
उहाँले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाए ।
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा माओवादी केन्द्रसँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गरेका छन ।
दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गरेका छन ।
उहाँले भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा एमाले एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको र त्यही जगमा पार्टी आज जनतामा लोकप्रिय भएको उल्लेख गर्दै भण्डारीले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको जनाएका छन ।
स्मृति दिवसका अवसरमा आज एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम छ । कोरोना महामारीका कारण खुल्ला कार्यक्रम आयोजना गरिएको छैन । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend