बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

खाडीमा काम गर्ने नेपाली श्रमिकले आफ्नो गाँस कटाएर पठाए सिलिन्डर

खाडीमा काम गर्ने नेपाली श्रमिकले आफ्नो गाँस कटाएर पठाए सिलिन्डर

काठमाडौं । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’

नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं ।’ त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् । ‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’

एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो । ‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’ यो समाचारकान्तिपुर दैनिकमा छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend