सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अस्पतालले बिरामी भर्ना लिन छाडे

अस्पतालले बिरामी भर्ना लिन छाडे

काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो। अक्सिजन अभाव भएपछि १ सय ७० जनालाई मात्र भर्ना लिएर सेवा दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार भर्ना भएका ८० प्रतिशत बिरामी अक्सिजन चाहिने छन्।

उनीहरूलाई अक्सिजन पुर्‍याउन नसकेपछि तीमध्ये केही हाइफ्लो अक्सिजन चाहिने अवस्थाका छन्। अस्पतालले बिरामीको संख्या घटाएर १ सय ७० मा सीमित पारेको उनले बताए। अक्सिजन अभाव भएपछि चिकित्सकले कतिपय बिरामीलाई हातैले श्वास–प्रश्वास व्यवस्थापन गरेको शाक्यले बताए।

यस्तै त्रिवि शिक्षण अस्पतालसँग चार सय बिरामी भर्ना लिएर उपचार गर्न सक्ने क्षमता छ। तर अक्सिजन अभाव भएपछि अस्पतालले बेड संख्या बढाउन सकेको छैन। बिरामी भने बरन्डामा पालो कुरेर बसिरहेका छन्। यसरी पालो कुरेर बस्ने बिरामी ५० जना भएको अस्पतालले जनाएको छ। अक्सिजन नपाएपछि पालो कुर्दाकुर्दै बिरामीको मृत्यु हुने गरेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए।

राजधानीकै हिमाल अस्पतालले आवश्यकताअनुसार अक्सिजन आपूर्ति भए एकै पटकमा चार सय बिरामीलाई बेड व्यवस्थापन गरेर उपचार दिने सकिने जनाएको छ। हाल अस्पतालमा ३२९ संक्रमित उपचाररत छन्। तीमध्ये ५० जना आइसियुमा छन्। अहिलेकै अवस्थामा दैनिक ३ सय सिलिन्डर अक्सिजन चाहिने भए पनि सरकारले जम्मा ४० सिलिन्डरको कोटा तोकेपछि समस्या जटिल बनेको अस्पतालले जनाएको छ। अक्सिजन अभाव भएपछि पछिल्ला दिनमा नयाँ बिरामी भर्ना नलिएको अस्पताल स्रोतले बतायो।

देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल वीरले पनि अक्सिजन अभावकै कारण नयाँ सर्जिकल भवनलाई कोभिड वार्डमा विस्तार गर्न नसकेको जनाएको छ। वीरले बिहीबारदेखि भर्ना लिने बिरामीको संख्या पनि घटाएको छ। यस्तै राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन सक्ने स्थिति नरहेको जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend