सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक वैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका विरामीहरूका लागि सय वटा अक्सिजन कन्सनट्रेटरहरू पठाउने निर्णय गरेको हो।
बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दिर्घकालीन योजनासहित अघि बढ्नुपर्ने सुझाव दिए।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा विरामीहरूले अस्पतालमा बेडसमेत नपाउने अवस्था रहेको जानकारी दिए।
बैठकमा संघका उपाध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितिसँग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए। उनले संघको सक्रियतामा टेलिमेडिसिन संचालन भैरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए। बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे।
बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।
बैठकमा गैरआवासीय नेपाली संघ वेलायतकी अध्यक्ष पुनम गुरुङले वेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन्। उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन्।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोना भाइरसको संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए।
संघका महासचिव डा हेमराज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरूको उपस्थिति थियो।
बैठकमा वक्ताहरूले कोभिड १९ विरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए। बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमितहरूको स्वास्थ्यलाभको समेत कामना गरेको थियो।
यसै सन्दर्भमा संघको स्वास्थ्य समितिले नेपालका विभिन्न शहरमा स्वास्थ्यसम्बन्धी हटलाइन (टेलिफोन सेवा) सुरू गरिसकेका छन् नेपालको स्वास्थ्य संस्थासँग मिलेर सुरू गरिएको टेलीमेडिसिन हटलाइन सेवाका लागि करिब दुई दर्जन चिकित्सकहरू परिचालन गरिएको गैरआवासीय संघले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend