सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मोदीको नेपाल भ्रमण पछि, भारतीय मिडियाले गरे यस्तो अडकलबाजी

मोदीको नेपाल भ्रमण पछि, भारतीय मिडियाले गरे यस्तो अडकलबाजी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले फेरि एकपल्ट यहाँको राजनीति तताएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसम्मिलित वामगठबन्धन केही समयअघिसम्म बलियो स्थितिमा थियो तर अहिले त्यसको आधार हल्लिएको छ र लगभग तोडिने स्थितिमा छ । अनि अडिग ‘राष्ट्रवादी’ भनी प्रशंसित नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको छवि मोदी आएपछि धमिलिएको छ ।
मोदीले नेपाल छोडेको केही घन्टाभित्रमा ओली अस्वाभाविक रूपमा क्षमाप्रार्थी देखिए । मोदी भ्रमणका बारेमा जानकारी दिनका लागि संसद्लाई सम्बोधन गरेका ओलीले भ्रमण व्यवस्थापनमा सरकारले गरेका कमजोरीलाई स्वीकारे । उनले दुई देशबीचको सम्बन्ध सधैंभरि तनावग्रस्त रहिरहन सक्दैन भनी जोड दिएपनि ‘नेपालका देशभक्त जनताले सरकारलाई सचेत गराइरहेको जसले गर्दा गल्तीहरू नदोहोरिने’ भनी जनताको प्रशंसा गरे । उनले ‘सञ्चारमाध्यम र बुद्धिजीवीहरूका चिन्तालाई एकदमै गम्भीरताका साथ लिएको’ बताए ।संसदमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रहरूले कसरी सम्बन्ध सुधार्नुपर्छ भन्ने उदाहरण दिनका लागि जुनमा हुन लागेको डोनल्ड ट्रम्प र किम जोङ–उनबीचको शिखर सम्मेलनको प्रसंग कोट्ट्याए तर मोदीको भ्रमणले काठमाडौंमा उनको ‘राष्ट्रवादी’ छविमा पुगेको आघात र जन्मेको आक्रोशका बारेमा उनी निश्चितरूपमा चिन्तित भएको देखियो ।
ओली नेतृत्वको एमाले र प्रचण्डको माओवादी केन्द्रले दुई पार्टीको एकता गर्ने अनि नेपालमा सिंगो कम्युनिस्ट खेमा बनाउने प्रतिज्ञाका साथ संयुक्त रूपमा चुनाव लडेका थिए । यो चुनावी प्रतिबद्धता अझै पूरा भएको छैन र मोदीको भ्रमणपछि यसमा शंका उत्पन्न भएको छ । पार्टी एकताको लामो र अनिश्चित प्रतीक्षाले दुवै दल तथा मोर्चाका समर्थक र कार्यकर्ताहरूलाई निराश बनाएको छ । लेनिनको जन्मोत्सवको अवसर पारेर वैशाख ९ गते मनाइएको कम्युनिस्ट पार्टी गठन दिवसमा दुवै पक्ष एकअर्कासँग झगडा गरिरहेका अनि एकअर्का्विरुद्ध नारा लगाइरहेका भेटिए । एमाले कार्यकर्ताहरूले घमण्ड देखाउँदै मञ्चमा लेनिनको तस्वीर नराखेको भन्दै माओवादी केन्द्रका समर्थकहरूले आरोप लगाए । केपी ओलीलाई प्रयोग गरिएजस्तै विशिष्ट शब्दका साथ प्रचण्डलाई स्वागत नगरिएकोमा पनि उनीहरू असन्तुष्ट थिए । आयोजकहरूले केपी ओलीको चित्रसँगै लेनिनको चित्र टाँगेपछि अनि प्रचण्डलाई विस्तारपूर्वक परिचयात्मक स्वागत गरेपछि मात्र कार्यक्रम शुरु भएको थियो ।
निर्वाचन सम्पन्न भएदेखि नै ओली र प्रचण्ड दुवैले आफ्ना समर्थकहरूलाई एकता समयका कारण पनि लम्बिएको बताउँदै आएका थिए । पहिला त ओलीको भारत भ्रमणका कारण ढिलाइ भएको भनियो । अनि मोदीले नेपाल भ्रमण गर्नुअघि नै एकता गर्ने भनी समाचार आए । एक महिनाअघि ओली र प्रचण्डले सात बुँदे एकता सम्झौतामा हस्ताक्षर गरेर एकतासँग सम्बन्धित विवाद मिलाउनका लागि शीर्ष नेताहरूको एक टोली बनाए । तर त्यसपछि उत्साह सेलाउँदै गएको छ र नाम नबताउने शर्तमा माओवादीका एक केन्द्रीय समिति सदस्यले भनेझैं एकता अब एजेन्डा नै रहेन र उनीहरूले बैठकहरूमा यसको चर्चा समेत गर्न छोडेका छन् ।

मोदी जनकपुरमा अवतरण गर्ने्बित्तिकै दुई पार्टीबीचको सम्बन्धमा चिरा देखिन थाल्यो । मोदीको भ्रमणअवधिभर प्रचण्डले ‘लो प्रोफाइल’ राखे अनि उनका दलका मन्त्रीहरू राज्यले आयोजना गरेका सबै कार्यक्रममा अनुपस्थित रहे । ऊर्जामन्त्री वर्षमान पुनले अरुण तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा भाग लिएनन् । उनका सहयोगीले पुनलाई कार्यक्रममा ननिम्त्याइएको गुनासो गरे । पछि माओवादी नेताहरूले मोदीलाई काठमाडौंमा गरिएको नागरिक अभिनन्दन कार्यक्रम बहिष्कार गरे । गठबन्धन साझेदार माओवादी केन्द्रले सिफारिश गरेका राजनीतिक नियुक्तिहरूलाई ओलीले अस्वीकार गरिदिएको खबर छ । उनले प्रचण्डका सुझावहरू पनि बेवास्ता गर्न थालेका छन् ।
एमालेको शीर्ष नेतृत्व प्रचण्डको नेतृत्वका बारेमा सुनिश्चित छैन भन्ने अब लगभग प्रस्ट भइसकेको छ । सन् १९९० को दशकमा गठन भएको एमालेले प्रचण्ड र उनको दललाई शत्रुका रूपमा लिन्छ । सशस्त्र युद्धका बेलामा माओवादी क्याडरहरूले आफ्नो प्रभावक्षेत्रमा एमाले नेता तथा कार्यकर्तालाई आक्रमण गर्ने गरेका थिए । अचम्मको कुरा त, एमालेको पार्टी वेबसाइटमा माओवादी केन्द्रका कार्यकर्ताले मारेका एमालेका ४९० क्याडरका नामको एक लिंक छ । उक्त लिंकको पेजमा लेखिएको छ स् ‘पार्टीले राणाशासन, पञ्चायती व्यवस्था वा राजतन्त्रविरुद्ध गरेको संघर्षमा मारिएका कार्यकर्ताभन्दा द्वन्द्वका बेलामा मारिएका कार्यकर्ताको संख्या बढी छ । त्यसैगरी माओवादी नेताहरू पनि एकताका विषयमा बढी नै चिन्तित हुन थालेका छन् । आफ्ना नेताहरूलाई किनारीकृत गरिएकोलाई उनीहरू भविष्यका लागि चेतावनीका रूपमा हेरिरहेका छन् । माथि उल्लेख गरिएका केन्द्रीय समिति सदस्यका अनुसार, योङ कम्युनिस्ट लीग र पार्टीका अधिकांश बुद्धिजीवी तथा परराष्ट्र विभाग एकताको विपक्षमा छन् । तर उनका अनुसार, यस विषयमा प्रचण्डकै बोली अन्तिम हुनेछ ।
प्रचण्डको मनमा के चलिरहेको छ भन्ने प्रस्ट छैन तर उनी ओलीलाई आफ्नो पार्टीमा कुरा मिलाउनका लागि थप समय दिन तयार रहेको देखिन्छन् । ओली र प्रचण्ड दुवै महत्त्वाकांक्षी छन् र दुवैलाई एकअर्काको आवश्यकता छ । तर दुवैले एकतामा ढिलाइ भएमा दुवैजना कहीँ पनि पुग्दैनन् भनी दिमागमा राख्नु जरूरी छ ।
एकतालाई गति दिइएन भने त्यसले विभाजनलाई तीव्रता दिन्छ । अनि ओलीका लागि ठूलो पाठ हो – अरेबियन नाइट्सको कथाको जिन जस्तो राष्ट्रियताको मुद्दा उचाल्न सजिलो तर नियन्त्रण गर्न गाह्रो हुन्छ ।
(डेलीओ डट् इनमा प्रकाशित आलेखको भावानुवाद

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend