सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीय संसदको दोस्रो अधिवेशन केही घण्टा पछि सुरु हुदै

संघीय संसदको दोस्रो अधिवेशन केही घण्टा पछि सुरु हुदै

संघीय संसदको दोस्रो अधिवेशन अव केही घण्टा पछि सुरु हुने भएको छ । आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकसाथ बस्न लागेको संसद सचिवालयले जनाएको छ । यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ । संसद सचिवालयका अनुसार आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
आइतबारकै बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ ।
वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ । अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।
त्यसपछिका संसदको बैठकमा नीति तथा कार्यक्रम माथि छलफल गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने सन्दर्भ रहने छ । संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले जेठ १५ गते सदनमा सरकारको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन् । अधिवेशनका क्रममा बजेटमाथि एक हप्ता सैद्धान्तिक छलफल गर्ने र अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यक्रम रहने छ ।
त्यसपछिका बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने, पारित गर्ने र सोसँग आश्रित विधेयकहरु आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने समयसीमासहितको सम्भावित कार्यक्रम रहेको छ ।
अधिवेशनको क्रममा सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयमाथि छलफल गर्ने, संसद सचिवालयमा दर्ता हुन आएका सार्वजनिक महत्वका र संकल्पलगायतका प्रस्तावमाथि पनि छलफल गरिनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend