काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा तथा आवास क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक क्षेत्रका रूपमा व्याख्या गर्दै यस क्षेत्रलाई पुनः चलायमान बनाउन सके समग्र आर्थिक गतिविधिले गति लिने बताएका छन्।
नेपाल जग्गा तथा आवास विकास संघद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मल्होत्राले लामो समयको राजनीतिक अन्योलपछि देशमा स्थायी सरकार गठन भएको उल्लेख गर्दै निजी क्षेत्र अहिले आशावादी बनेको बताए। राजनीतिक स्थिरतासँगै आर्थिक नीतिहरूमा निरन्तरता आउने अपेक्षा निजी क्षेत्रले गरेको उनको भनाइ थियो।
उनले घरजग्गा, आवास तथा निर्माण क्षेत्रको प्रत्यक्ष सम्बन्ध बैंकिङ, सिमेन्ट, फलाम, हार्डवेयर, फर्निचर, विद्युतीय सामग्री, श्रम बजार तथा अन्य दर्जनौँ उद्योग–व्यवसायसँग रहेको उल्लेख गर्दै यस क्षेत्रको विस्तारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।
“घरजग्गा व्यवसायलाई माथि उकास्न सके मात्र अन्य धेरै व्यवसायहरू स्वतः अगाडि बढ्छन्। यो क्षेत्र चलायमान हुँदा रोजगारी सिर्जना हुन्छ, उद्योगहरूको उत्पादन बढ्छ र बजारमा आर्थिक गतिविधि विस्तार हुन्छ,” उनले भने।
वरिष्ठ उपाध्यक्ष मल्होत्राले नयाँ सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार विकास क्षेत्रमा करिब चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको विषयलाई निजी क्षेत्रका लागि सकारात्मक सन्देशका रूपमा व्याख्या गरे। पूर्वाधार निर्माणमा हुने लगानीले आर्थिक गतिविधि बढाउने, निजी क्षेत्रको मनोबल उकास्ने तथा विकास आयोजनाहरूलाई गति दिने उनको विश्वास थियो।
उनले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विकास निर्माणका कामहरू तीव्र गतिमा अघि बढे मात्र लगानीकर्ताको विश्वास बढ्ने र नयाँ लगानी आकर्षित हुने उनको धारणा थियो।
कार्यक्रममा बोल्दै मल्होत्राले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजीगत खर्च केही मात्रामा भए पनि बढाइएको विषयलाई स्वागतयोग्य कदम भएको बताए। पुँजीगत खर्च वृद्धि हुनु आफैँमा सकारात्मक भए पनि त्यसको प्रभावकारिता खर्च कार्यान्वयनको क्षमतामा निर्भर रहने उनले उल्लेख गरे।
“बजेटमा रकम छुट्याउनु मात्र पर्याप्त हुँदैन। विनियोजित बजेट समयमै खर्च हुनुपर्छ। विकास आयोजनाहरूले गति पाए मात्र अर्थतन्त्र चलायमान हुन्छ र त्यसको प्रत्यक्ष लाभ निजी क्षेत्रले पनि प्राप्त गर्न सक्छ,” उनले बताए।
उनले पछिल्ला वर्षहरूमा सुस्त बनेको निर्माण तथा घरजग्गा क्षेत्रलाई पुनर्जीवित गर्न सरकारले नीतिगत सुधार, लगानीमैत्री वातावरण र प्रक्रियागत सरलीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रको मनोबल उच्च बनाउने र लगानीको वातावरण सुदृढ गर्ने नीतिहरू कार्यान्वयनमा आएमा आर्थिक वृद्धिदर बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि घरजग्गा तथा आवास क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै यस क्षेत्रसँग सम्बन्धित नीतिगत जटिलता हटाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए। साधारणसभामा जग्गा तथा आवास व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend