सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने बजेट आएको छ : सुरज बन्जाडे

उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने बजेट आएको छ : सुरज बन्जाडे

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने सकारात्मक सन्देश दिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य सुरज बन्जाडेले बजेटप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
बन्जाडेले बजेटको प्रारम्भिक समीक्षा गर्दा उद्योग क्षेत्रका धेरै मागहरू सम्बोधन भएको उल्लेख गर्दै विशेषगरी उत्पादनमूलक उद्योगको पक्षमा बजेट आएको बताए। उनका अनुसार विगतमा केही कच्चा पदार्थ नेपालमै उत्पादन गर्नुभन्दा आयात गर्दा सस्तो पर्ने अवस्था रहेकामा भन्सार दरमा गरिएको संशोधनले त्यस्तो विकृति हट्ने र उत्पादन क्षेत्रमा मूल्य अभिवृद्धि बढ्ने अपेक्षा गरिएको छ।
उनले अन्तःशुल्क हटाइनु, भन्सार दर घटाइनु, कम्पनी बन्द गर्ने प्रक्रियालाई सहज बनाइनु तथा बक्यौता करमा लाग्ने ब्याज र जरिवाना छुटको व्यवस्था निकै सकारात्मक कदम भएको बताए। त्यसैगरी करका दर तथा छुट–सुविधा, चोरी पैठारी नियन्त्रण गर्ने प्रतिबद्धता र उधारो असुलीसम्बन्धी कानुन ल्याउने घोषणाले निजी क्षेत्रलाई थप उत्साहित बनाएको उनको भनाइ छ।
बन्जाडेका अनुसार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालमार्फत प्रस्तुत गरिएका केही मागबाहेक अधिकांश सुझाव बजेटमा समेटिएका छन्। उद्योग क्षेत्रका केही समस्या भने आगामी मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने आवश्यकता रहेको उनले औंल्याए।
यद्यपि साना तथा मझौला उद्योगहरूले प्रत्यक्ष रूपमा कच्चा पदार्थ आयात गर्न नसक्ने र स्थानीय व्यवसायीमार्फत खरिद गर्नुपर्ने भएकाले उनीहरूलाई लागत केही महँगो पर्न सक्ने चुनौती रहेको पनि उनले बताए।
समग्रमा बजेटले उद्योगी व्यवसायीलाई सकारात्मक रूपमा उत्साहित बनाएको उल्लेख गर्दै बन्जाडेले यसको सफलता भने प्रभावकारी कार्यान्वयनमा निर्भर रहने बताए। “बजेटका व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन सके उद्योग क्षेत्रले अपेक्षित लाभ प्राप्त गर्नेछ,” उनले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend