काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचडीएफ) र नेपाल जग्गा तथा आवास विकास संघ (एनएचडीए) को संयुक्त आयोजनामा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०२६’ आयोजना हुने भएको छ। आगामी असोज १ गतेदेखि ४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।
नेपाल जग्गा तथा आवास विकास संघले विगतदेखि नियमित रूपमा आयोजना गर्दै आएको घरजग्गा तथा निर्माण प्रदर्शनीको यो १९औं संस्करण हो। यस वर्षको प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औं हिरक जयन्तीको अवसरसँग समेत जोडिएकाले विशेष महत्वका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको सन्दर्भमा वैज्ञानिक, सुरक्षित, व्यवस्थित तथा किफायती आवास विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताइएको छ। आयोजकका अनुसार मेलाले घरजग्गा तथा आवास क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, सेवा प्रदायक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने साझा मञ्चका रूपमा काम गर्नेछ।
प्रदर्शनीमा भवन तथा संयुक्त आवास (अपार्टमेन्ट), जग्गा विकास आयोजना, निर्माण सामग्री, इन्जिनियरिङ तथा वास्तुकला सेवा, बैंक तथा बीमा संस्थाका साथै स्वदेशी तथा विदेशी प्रदर्शकहरूको सहभागिता रहनेछ। आयोजकले यसपटक १०० भन्दा बढी स्टल रहने अनुमान गरेको छ।
मेलामा अत्याधुनिक विद्युतीय उपकरण, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, सेनिटरीवेयर, विभिन्न ब्रान्डका पेन्ट, सेरामिक सामग्री, सिसा, काठ, ढुंगा, आइरन, स्टिल तथा सिमेन्टलगायत निर्माण सामग्री प्रदर्शन गरिनेछ। साथै इन्टेरियर डेकोरेसन, वास्तुकला, भर्चुअल रियालिटी (भीआर), अग्मेन्टेड रियालिटी (एआर), सौर्य ऊर्जा तथा आधुनिक फोहोर व्यवस्थापन प्रविधिसम्बन्धी जानकारी र परामर्श सेवा पनि उपलब्ध गराइने जनाइएको छ।
आयोजकका अनुसार प्रदर्शनी अवधिभर सहभागी कम्पनीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक शुभारम्भ (प्रोडक्ट लञ्च) गर्न सक्ने विशेष व्यवस्था मिलाइनेछ। विभिन्न क्षेत्रका विज्ञहरूले उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवा उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ।
घरजग्गा तथा आवास क्षेत्रका व्यवसायी, लगानीकर्ता, घर तथा जग्गा खरिदकर्ता, रियल इस्टेट एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, शहरी योजनाकार, इन्टेरियर डिजाइनर तथा निर्माण सामग्री आपूर्तिकर्ताहरूका लागि प्रदर्शनी प्रभावकारी प्लेटफर्म बन्ने विश्वास आयोजकको छ। साथै नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह तथा नियमनकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।
देशको आर्थिक गतिविधिमा केही सुस्तता देखिएको वर्तमान अवस्थामा यस प्रदर्शनीले घरजग्गा तथा आवास क्षेत्रको कारोबारलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने आयोजकको दाबी छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता तथा घट्दो ब्याजदरको वातावरणमा सुरक्षित र दीर्घकालीन लगानीका अवसरबारे जानकारी दिन पनि मेला उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नारासहित आयोजना हुने प्रदर्शनीले वातावरणमैत्री, आधुनिक तथा दिगो शहरीकरणको अवधारणालाई प्रवर्द्धन गर्दै व्यवस्थित आवास विकासको अभियानमा नयाँ ऊर्जा थप्ने आयोजकको विश्वास रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend