काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको १९औँ साधारण सभा शनिबार काठमाडौंको नक्सालस्थित काठमाडौं मेरियट होटलमा सम्पन्न भएको छ। संघका अध्यक्ष इञ्जिनियर दीपक कुँवरको सभापतित्वमा आयोजित कार्यक्रममा निजी क्षेत्रका अग्रणी व्यवसायिक संगठनका नेतृत्व तथा आवास क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी साधारण सभाको उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, महासंघका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठ, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (वस्तुगत) नरेशलाल श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।
साधारण सभाको प्रारम्भ राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि अध्यक्ष दीपक कुँवरले स्वागत मन्तव्यसहित संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालको आवास तथा रियल इस्टेट क्षेत्रले अर्थतन्त्र, रोजगारी सिर्जना र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले यस क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै महासंघका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले घरजग्गा तथा आवास क्षेत्रको विकासले समग्र अर्थतन्त्रलाई गति दिने उल्लेख गर्दै नीतिगत स्थिरता र लगानी संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले निर्माण तथा आवास क्षेत्र आर्थिक गतिविधिको प्रमुख आधार भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखे।
त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको मनोबल उच्च बनाउन नीतिगत स्पष्टता र दीर्घकालीन योजना आवश्यक रहेको बताए। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आवास क्षेत्रले भोगिरहेका चुनौती तथा समाधानका उपायबारे आफ्नो धारणा राख्दै व्यवसायिक वातावरण सुधारमा सरकारको ध्यानाकर्षण गराए।
प्रमुख अतिथि अञ्जन श्रेष्ठले घरजग्गा, आवास तथा निर्माण क्षेत्र मुलुकको आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उल्लेख गर्दै लगानी प्रवर्द्धन, बैंकिङ सहजता र नीतिगत सुधारमार्फत यस क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्ने बताए। उनले निजी क्षेत्रको सुझावलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा आगामी ‘घरजग्गा तथा निर्माण एक्स्पो २०८३’ को आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो। एक्स्पोमार्फत आवास, निर्माण, पूर्वाधार तथा रियल इस्टेट क्षेत्रका नवीनतम प्रविधि, सेवा तथा लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ।
साधारण सभामा विभिन्न व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि तथा विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा संघका प्रथम उपाध्यक्ष पुरुषोत्तम पौड्यालले धन्यवाद ज्ञापन गरेका थिए।
उद्घाटन सत्र सम्पन्न भएपछि ‘घरजग्गा तथा निर्माण एक्स्पो २०८३’ सम्बन्धी जानकारी दिन पत्रकार भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको थियो। संघले एक्स्पोमार्फत आवास तथा निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता, सेवा प्रदायक र उपभोक्ताबीच प्रभावकारी सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend