सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जल पर्यटनप्रति बजेटको उपेक्षा, अपार सम्भावना हुँदाहुँदै पनि प्राथमिकतामा परेनः गौतम खड्का

जल पर्यटनप्रति बजेटको उपेक्षा, अपार सम्भावना हुँदाहुँदै पनि प्राथमिकतामा परेनः गौतम खड्का

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघका सचिव गौतम खड्काले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले जल पर्यटन क्षेत्रलाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन्। नेपालमा जल पर्यटनको अपार सम्भावना रहे पनि राज्यले यस क्षेत्रलाई निरन्तर उपेक्षा गर्दै आएको उनको भनाइ छ।

खड्काले नदी, ताल, झरना तथा जलाशयहरूको धनी मुलुक नेपालमा जल पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गर्दै बजेटमा यस क्षेत्रको विकासका लागि ठोस कार्यक्रम, लगानी र नीतिगत व्यवस्था नदेखिएको बताए। उनले जल पर्यटनलाई प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माण, निजी क्षेत्रको सहभागिता वृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारका कार्यक्रमहरू समावेश हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको टिप्पणी गरे।

उनका अनुसार साहसिक पर्यटनका रूपमा र्‍याफ्टिङ, कायकिङ, बोटिङ, क्रुज सेवा, जलक्रीडा तथा जलाशय केन्द्रित पर्यटन गतिविधिहरूले नेपालमा ठूलो आर्थिक अवसर सिर्जना गर्न सक्छन्। यस्ता गतिविधिबाट स्थानीय रोजगारी, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रलाई समेत बल पुग्ने भए पनि राज्यको प्राथमिकतामा नपर्नु दुःखद रहेको उनले बताए।

“नेपालको पर्यटन क्षेत्रभित्र जल पर्यटन अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। तर यो क्षेत्र सधैं ‘बत्तीमुनिको अन्धकार’ जस्तै बनेको छ,” खड्काले भने, “पर्यटनको कुरा धेरै गरिन्छ तर जल पर्यटनलाई केन्द्रमा राखेर योजना निर्माण गरिँदैन। यही कारण यसको सम्भावना व्यवहारमा रूपान्तरण हुन सकेको छैन।”

उनले नेपालका प्रमुख नदी तथा जलाशयहरूलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारको दीर्घकालीन योजना अभाव रहेको बताए। जल पर्यटनलाई व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका साथै निजी क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

सचिव खड्काले जल पर्यटनप्रतिको सरकारी दृष्टिकोणलाई व्यंग्यात्मक रूपमा व्याख्या गर्दै भने, “किराले हिरा चिन्दैन भनेझैं राज्यले पनि जल पर्यटनभित्र लुकेको आर्थिक सम्भावना र अवसरलाई अझै सही ढंगले पहिचान गर्न सकेको देखिँदैन।” उनले प्राकृतिक स्रोतको सदुपयोग गर्दै पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार बनाउन जल पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

उनले आगामी दिनमा सरकार, निजी क्षेत्र र स्थानीय तहबीच समन्वय गरी जल पर्यटनको दीर्घकालीन विकास रणनीति तयार गर्नुपर्नेमा जोड दिए। नेपालका नदी, ताल र जलाशयहरूलाई आर्थिक समृद्धिको माध्यम बनाउन सकिए पर्यटन क्षेत्रले नयाँ उचाइ हासिल गर्ने र मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने उनको विश्वास छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend