सर्लाही । नेपाल उद्योग व्यापार महासंघका सचिव, नेपाल उद्यान महासंघका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक गौतम खड्काले बागमती नगरपालिका, सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मालाई ‘उद्यान दर्पण’ उपहार हस्तान्तरण गर्नुभएको छ ।
नेपाल उद्यान महासंघको तर्फबाट गरिएको उक्त भेटघाटका क्रममा भरत ताल पर्यटकीय क्षेत्रसहित बागमती नगरपालिका भित्र रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका विषयमा घनिभूत छलफल भएको बताइएको छ ।
महासंघका सचिव खड्काले स्थानीय पर्यटन क्षेत्रको सम्भावना उजागर गर्दै बागमती नगरपालिकामा रहेका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रियस्तरमा चिनाउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँले भरत ताल लगायतका क्षेत्रको व्यवस्थित प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत शर्माले स्थानीय पर्यटन विकासका लागि नगरपालिका सकारात्मक रहेको बताउँदै निजी क्षेत्र तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिक्रिया दिनुभएको जनाइएको छ । भेटघाट तथा छलफल कार्यक्रमको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend