काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशतर्फको सञ्चालक पदमा सहकारी अभियन्ता डा। परितोष पौड्याल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवार रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्नुभएको हो ।
निर्वाचनमा डा पौड्यालले १ हजार ८२७ मत प्राप्त गर्दा घिमिरेले १ हजार ५५२ मत प्राप्त गर्नुभयो । सातै प्रदेशमा मतदान सम्पन्न भएको थियो । गण्डकी प्रदेशमा पौड्यालले सबैभन्दा फराकिलो अग्रता बनाउँदै ३२४ मत प्राप्त गर्दा घिमिरेले ८० मत मात्र पाउनुभएको थियो ।
यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । एमाले निकट दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि सहकारी वृत्तमा चुनावले विशेष चर्चा पाएको थियो ।
निर्वाचनपछि डा पौड्यालले बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर सबै सदस्य संस्थाको साझा बैंकका रूपमा विकास गर्ने बताउनुभयो ।
बैंकको विनियमअनुसार निर्वाचित सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था रहेको छ । बागमती प्रदेशबाट निर्वाचित पौड्याल बैंकको अध्यक्षको प्रमुख दाबेदारका रूपमा समेत हेरिनुभएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend