सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाण्डबखानीलाई आत्मनिर्भर बनाउने अभियानमा एक हजार सुन्तलाका बिरुवा वितरण

पाण्डबखानीलाई आत्मनिर्भर बनाउने अभियानमा एक हजार सुन्तलाका बिरुवा वितरण

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता टेक पुन मगरले गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको पाण्डबखानीलाई आत्मनिर्भर गाउँका रूपमा विकास गर्ने उद्देश्यसहित एक हजार सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला कार्यसमिति सदस्य समेत रहेका मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत गाउँको समृद्धिका लागि स्थानीय उत्पादन र कृषि आत्मनिर्भरतामा जोड दिँदै उक्त अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।

उनले हाम्रो गाउँ बनाउने हामी आफैं हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गलकोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीलाई आत्मनिर्भर बनाउने सानो प्रयासस्वरूप एक हजार सुन्तलाका बिरुवा वितरण गरिएको उल्लेख गरेका छन् ।

मगरका अनुसार आगामी दिनमा किबी, अङ्गुर, अम्बा, कागती तथा एभोकाडोजस्ता फलफूलका बिरुवासमेत समयअनुकूल वितरण गर्दै लगिने योजना रहेको छ ।

उनले गाउँको विकासका लागि स्थानीय नागरिक स्वयं जागरूक हुनुपर्नेमा जोड दिँदै “हामी जागे गाउँ जाग्छ, गाउँ जागे पालिका जाग्छ, पालिका जागे जिल्ला जाग्छ र अन्ततः देशै जाग्नेछ” भन्ने सन्देश दिएका छन् ।

साथै, अरूलाई दोष दिएर मात्र नहुने भन्दै आफैं जिम्मेवारी लिएर गाउँ समृद्ध बनाउने अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरेका छन् । स्थानीय तहमा कृषि उत्पादन वृद्धि, फलफूल खेती विस्तार तथा ग्रामीण आत्मनिर्भरताका लागि यस्ता अभियान प्रभावकारी बन्न सक्ने स्थानीयवासीको विश्वास रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend