काठमाडौं । पेसागत महासङ्घ नेपालले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा “मदन भण्डारी र ट्रेड युनियन अधिकार” विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ । थापाथलीस्थित पेसागत महासङ्घ नेपाल सभाहलमा आयोजित कार्यक्रममा विभिन्न पेशागत तथा श्रमिक संगठनका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम पेसागत महासङ्घ नेपालका अध्यक्ष पुन्य प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वर्तमान समसामयिक राजनीतिक तथा श्रमिक अधिकारका विषयमा धारणा राख्दै ट्रेड युनियन अधिकारलाई संस्थागत र प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले जननेता मदन भण्डारीको विचार र राजनीतिक दर्शन अहिलेको समयका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँले देखाएको मार्गअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी महासङ्घका सल्लाहकार समिति संयोजक बाबुराम थापाले पनि “मदन भण्डारी र ट्रेड युनियन अधिकार” विषयमा आफ्नो विचार राख्दै श्रमिक वर्गको हकहित सुनिश्चित गर्न संगठित आन्दोलन र वैचारिक स्पष्टता आवश्यक रहेको बताए ।
कार्यक्रममा आबद्ध विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले समेत ट्रेड युनियन आन्दोलन, श्रमिक अधिकार र वर्तमान चुनौतीका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरुले श्रमिक मैत्री नीति निर्माण र कार्यान्वयनमा जोड दिएका थिए ।
महासङ्घका उपाध्यक्ष भोलानाथ पोखरेलले पनि कार्यक्रममा मन्तव्य राख्दै पेसागत तथा श्रमिक आन्दोलनलाई अझ सशक्त र एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरुले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद तथा श्रमिकमैत्री विचारधाराले आजको राजनीतिक र सामाजिक परिवेशमा समेत मार्गदर्शन गरिरहेको बताएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend