काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम भ्लोन लामाले महिला नेतृत्वलाई प्राथमिकता दिँदै आफ्नो व्यावसायिक प्यानल सार्वजनिक गरेका छन् ।
लामाले संविधानले व्यवस्था गरेको ३३ प्रतिशतभन्दा बढी महिला सहभागिता सुनिश्चित गर्दै इप्पानलाई समावेशी र आधुनिक संस्था बनाउने उद्देश्यसहित टिम घोषणा गरेका हुन् । उनले ऊर्जा, बैंकिङ, वित्तीय व्यवस्थापन तथा वातावरणीय न्यायका क्षेत्रमा अनुभव हासिल गरेका सक्षम महिलालाई नेतृत्वमा ल्याइएको बताए ।
प्यानलबाट उपाध्यक्ष पदमा सुसान कर्माचार्य (राजभण्डारी), उप–महासचिवमा कविता पोखरेल तथा सचिव पदमा सुमन जोशी उम्मेदवार रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यतर्फ अभिज्ञा मल्ला, इशा श्रेष्ठ र प्रतिमा ज्ञवालीलाई अघि सारिएको छ ।
लामाका अनुसार महिला उम्मेदवारहरू केवल समावेशिताका लागि नभई जलविद्युत, पूर्वाधार, वित्तीय व्यवस्थापन र नवीकरणीय ऊर्जाको क्षेत्रमा स्थापित र अनुभवी व्यक्तित्व हुन् । उनले इप्पानलाई थप पारदर्शी, उत्तरदायी र समावेशी संस्था बनाउने लक्ष्यसहित आफ्नो प्यानल अघि बढेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend