काठमाडौं । सहकारी अभियानमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै प्रारम्भिक संस्थादेखि राष्ट्रिय स्तरसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. परितोष पौडेल अहिले राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । सहकारी क्षेत्रको वित्तीय कारोबार, व्यवस्थापन र संस्थागत विकासमा लामो अनुभव हासिल गरेका पौडेललाई आम सहकारीकर्मीले अभियानको साझा उम्मेदवारका रूपमा अघि सारेका हुन् ।
निर्वाचनको माहोल तातिँदै जाँदा आफ्नो विरुद्ध सामाजिक सञ्जाल र केही माध्यममार्फत कपोलकल्पित तथा भ्रामक प्रचार गरिएकोप्रति पौडेलले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा आवश्यक भए पनि पूर्वाग्रह राखेर गरिने मिडिया ट्रायल र व्यक्तिगत चरित्रमाथिको आक्रमण उचित नभएको स्पष्ट पारे ।
“निर्वाचन एउटा नियमित लोकतान्त्रिक प्रक्रिया हो । विचार, योजना र कार्यक्षमताका आधारमा प्रतिस्पर्धा हुनुपर्छ । तर व्यक्तिविशेषलाई लक्षित गरी गलत प्रचार गर्नु स्वस्थ अभ्यास होइन,” पौडेलले भने, “यदि यस्ता गतिविधि निरन्तर भइरहे भने म साइबर ब्युरो तथा कानुनी उपचारमा जान बाध्य हुनेछु ।”
सहकारी क्षेत्रको साख र विश्वसनीयता अभिवृद्धिमा आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आफू बचत तथा ऋण सहकारी अभियानबाट स्थापित व्यक्ति भएको दाबी गरे । राष्ट्रिय सहकारी बैंक वित्तीय कारोबार गर्ने संस्था भएकाले प्रतिनिधिहरूले अनुभव, दक्षता र वित्तीय ज्ञान भएका नेतृत्वलाई रोज्ने विश्वास उनले व्यक्त गरे ।
सामाजिक सञ्जालमा उठाइएका विभिन्न आरोपबारे प्रश्न उठाउँदै पौडेलले प्रतिप्रश्नसमेत गरेका छन् । “नेफ्स्कुनको जग्गा मैले किनेको हो ? भवन निर्माण उपसमिति संयोजक म थिएँ ? कर्जा लगानी उपसमिति संयोजक म थिएँ ? सफ्टवेयर खरिद उपसमिति संयोजक म थिएँ ?” भन्दै उनले भ्रम फैलाएर सहकारी अभियानलाई कमजोर बनाउन खोजिएको आरोप लगाए ।
उनले आफ्नो कार्यकालमा नेफ्स्कुनलाई संस्थागत रूपमा मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । “मेरो कार्यकालमै नेफ्स्कुनको आफ्नै भवन निर्माण सुरु भयो र अहिले संस्था आफ्नै आकर्षक भवनमा सञ्चालन भइरहेको छ । यो सम्पूर्ण सहकारी अभियानका लागि गौरवको विषय हो,” उनले बताए ।
पौडेलले सहकारी बैंकलाई अझ सबल, पारदर्शी र सदस्यमैत्री संस्था बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै प्रतिनिधि तथा सहकारीकर्मीको साथ, सुझाव र सहयोग आवश्यक रहेको बताए । उनले जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न सम्पूर्ण प्रतिनिधिहरूसँग आग्रहसमेत गरेका छन् ।
“सहकारी अभियानलाई बलियो बनाउन अनुभव, इमानदारी र वित्तीय दक्षता आवश्यक छ,” पौडेलले भने, “आदरणीय प्रतिनिधिज्यूहरूले विवेकपूर्ण निर्णय गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend