सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दक्षिण एशियामै उच्च कर प्रणालीले राष्ट्रिय अर्थतन्त्रमा थप चुनौती : खिमनारायण पराजुली

दक्षिण एशियामै उच्च कर प्रणालीले राष्ट्रिय अर्थतन्त्रमा थप चुनौती : खिमनारायण पराजुली

नेपालको कर प्रणाली, ऋण र रेमिटेन्समुखी अर्थतन्त्रमाथि उद्योगी व्यवसायीको चिन्ता

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले नेपालको कर प्रणाली दक्षिण एशियामै उच्च रहेको भन्दै यसले राष्ट्रिय अर्थतन्त्रलाई थप संकटतर्फ धकेलिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष पराजुलीले नेपालको अर्थतन्त्र उत्पादन र उद्योगभन्दा बढी ऋण र रेमिटेन्समा निर्भर बनेको टिप्पणी गरेका हुन् । उनले अहिलेको आर्थिक संरचनाले दीर्घकालीन रूपमा मुलुकलाई कमजोर बनाउने संकेत देखिएको उल्लेख गरेका छन् ।

उनका अनुसार अत्यधिक करको भारका कारण उद्योगी तथा व्यवसायीहरूले थप चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । व्यवसाय सञ्चालन खर्च बढ्दै जाँदा निजी क्षेत्र निरुत्साहित बन्दै गएको र यसले लगानी वातावरणमा समेत नकारात्मक असर पारिरहेको उनको भनाइ छ ।

अध्यक्ष पराजुलीले सहकारी ठगी प्रकरणमा राज्यको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । सहकारी सञ्चालकहरूले हिनामिना गरेको रकम राज्यको समित स्रोतबाट संकलित कर रकम प्रयोग गरेर फिर्ता गर्ने सरकारको निर्णय उचित नभएको उनको धारणा छ ।

उनले सहकारी ठगीमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरी पीडितलाई दोषीबाटै रकम असुल उपर गर्नुपर्नेमा जोड दिएका छन् । करदाताले तिरेको रकम दुरुपयोग गरेर गलत अभ्यासलाई प्रोत्साहन गर्नु दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि घातक हुने उनको चेतावनी छ ।

पराजुलीले उत्पादनमुखी अर्थतन्त्र निर्माण, उद्योगमैत्री कर नीति, लगानी संरक्षण तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन् । उनले मुलुकको आर्थिक संकट समाधानका लागि दीर्घकालीन सोचसहित स्पष्ट आर्थिक सुधार नीति आवश्यक रहेको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend