सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वसुन्धारास्थित मदिरा पसलमा आगलागी, ३५ लाखभन्दा बढी क्षति

वसुन्धारास्थित मदिरा पसलमा आगलागी, ३५ लाखभन्दा बढी क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–वसुन्धारामा सञ्चालन हुँदै आएको ‘के. के. एण्ड के. लिकर्स’ मा भएको भीषण आगलागीबाट करिब ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।

व्यवसायी कल्पना केसीद्वारा सञ्चालन गरिएको उक्त पसलमा जेठ ३ गते राति आगलागी भएको हो। आगलागीका कारण मदिरा तथा मदिराजन्य सामग्री, महत्वपूर्ण व्यवसायिक कागजातसहित सम्पूर्ण पसल जलेर नष्ट भएको बताइएको छ।

घटनाप्रति मदिरा व्यवसायी संघ ललितपुरले गहिरो दुःख व्यक्त गर्दै पीडित व्यवसायी र परिवारप्रति ऐक्यबद्धता जनाएको छ। संघका अध्यक्ष हरि प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा विपद्को यस घडीमा व्यवसायी कल्पना केसीलाई धैर्यता र साहस प्राप्त होस् भन्ने कामना गरिएको छ।

संघले नेपाल मदिरा व्यवसायी महासंघले देखाएको सक्रियताको पनि प्रशंसा गरेको छ। महासंघका अध्यक्षको नेतृत्वमा गएको टोलीले घटनास्थल पुगेर क्षतिको विवरण बुझ्नुका साथै तत्काल राहतस्वरुप १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ। संघले महासंघको उक्त कदमलाई मानवीय र अभिभावकीय कार्यको संज्ञा दिएको छ।

यसैबीच संघले सम्पूर्ण व्यवसायीलाई आफ्नो व्यवसायमा विद्युतीय सामग्रीको नियमित परीक्षण गर्न, सर्ट सर्किटको जोखिमप्रति सचेत रहन तथा अग्नि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ। आगलागी नियन्त्रणमा खटिएका नेपाल प्रहरी, नगर प्रहरी, दमकलकर्मी तथा स्थानीयवासीप्रति पनि संघले धन्यवाद ज्ञापन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend