काठमाडौं । नेपाल हस्तकला महासंघले स्थानीय हस्तकला उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित ‘Nepal Handicraft Expo & Cultural Show 2026’ आयोजना गर्ने भएको छ । महासंघले सोमबार जारी गरेको प्रेस नोटअनुसार आगामी जेठ ८ देखि १० गतेसम्म (मे २२ देखि २४, २०२६) काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेट एण्ड इभेन्ट प्रालिमा तीन दिने मेला आयोजना गर्न लागिएको हो ।
हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न जिल्ला तथा प्रदेशमा उत्पादित हस्तकला सामग्रीको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिने जनाइएको छ । महासंघका अनुसार हस्तकला क्षेत्रले लाखौं मानिसलाई स्वरोजगारको अवसर प्रदान गरिरहेको छ भने नेपालका हस्तकला सामग्रीको अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सम्भावना रहेको छ ।
मेलाको मुख्य उद्देश्य स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्नु, जिल्ला संघहरूको सशक्तीकरण गर्नु, हस्तकला उद्योगमार्फत आयआर्जन तथा रोजगारी वृद्धि गर्नु, परम्परागत सीप, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको बताइएको छ । साथै, आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत मेलाले योगदान पुग्ने विश्वास महासंघले लिएको छ ।
मेलामा हस्तकला प्रदर्शनी तथा बिक्री, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकार तथा कालिगढहरूको सीप प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकार (Ethnic Food) को स्वाद प्रस्तुत गरिनेछ । काठमाडौं उपत्यकाका जिल्लासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङलगायत जिल्लाका स्थानीय संघहरूको सहभागिता रहने महासंघले जनाएको छ ।
‘Make in Nepal, Made in Nepal’ अवधारणाअनुसार मेलामा हस्तकला तथा अन्य नेपाली निकासी सम्भावना भएका वस्तुहरूको करिब ७० वटा स्टलमार्फत वस्तु तथा सेवा प्रदर्शन गरिनेछ । मेलामा प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ ।
मेलाको प्रचारप्रसारका लागि विद्युतीय सञ्चार माध्यम, इमेल, इन्टरनेट, सामाजिक सञ्जाल, ब्यानर तथा प्रत्यक्ष पत्राचारजस्ता माध्यम प्रयोग गरिएको छ ।
कार्यक्रमका प्रमोटेड पार्टनरको रूपमा हेल्भेटास नेपाल रहेको छ भने लजिस्टिक पार्टनर एभरेष्ट डी कार्गो प्रालि (FedEx), ट्राभल पार्टनर लक्की ट्राभल, प्रिन्टिङ पार्टनर विजय अफसेट, इन्स्योरेन्स पार्टनर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तथा मिडिया पार्टनर अभियान आर्थिक राष्ट्रिय दैनिक रहेका छन् । साथै नेपाल टेक्सटाइल, एनएमबी बैंक, Onepasal.com, Hopes International Pvt. Ltd. लगायत संस्थाहरूले सहयोग गरेका छन् । कार्यक्रमको इभेन्ट म्यानेजरको रूपमा इभेन्ट संसार डटकम रहेको महासंघले जनाएको छ ।
अध्यक्ष रबिन्द्र शाक्यले हस्तकला क्षेत्रलाई सरकारले नीतिगत रूपमा प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय हस्तकला उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘Nepal Handicraft Expo & Cultural Show 2026’ बारे धारणा राख्दै हस्तकला क्षेत्र नेपालको अर्थतन्त्र, रोजगारी र सांस्कृतिक पहिचानसँग प्रत्यक्ष जोडिएको बताए ।
उनले हस्तकला क्षेत्रले लाखौं नागरिकलाई स्वरोजगारको अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै नेपालमा उत्पादित हस्तकला सामग्री अन्तर्राष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको बताए । “हस्तकला केवल व्यापारिक वस्तु मात्र होइन, यो नेपालको मौलिक कला, संस्कृति, सीप र पहिचानको प्रतिनिधित्व गर्ने माध्यम हो,” अध्यक्ष शाक्यले भने ।
उनले स्थानीय स्तरमा उत्पादन हुने हस्तकला सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सरकारको स्पष्ट नीति, सहजीकरण र प्रोत्साहन आवश्यक रहेको धारणा राखे । हस्तकला उद्योगलाई कृषि पछिको ठूलो सम्भावना बोकेको क्षेत्रका रूपमा उल्लेख गर्दै उनले उत्पादन, बजारीकरण र निर्यात प्रवर्द्धनका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने बताए ।
अध्यक्ष शाक्यले आगामी जेठ ८ देखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेट एण्ड इभेन्ट प्रालिमा आयोजना हुने ‘Nepal Handicraft Expo & Cultural Show 2026’ ले स्थानीय उद्यमी, कलाकार तथा कालिगढहरूलाई आफ्नो सीप र उत्पादन प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार मेलामा देशका विभिन्न जिल्लाबाट हस्तकला सामग्री, स्थानीय उत्पादन तथा परम्परागत परिकारको प्रदर्शनी र बिक्री गरिनेछ । साथै विविध सांस्कृतिक कार्यक्रममार्फत नेपालको मौलिक संस्कृति र परम्पराको समेत प्रवर्द्धन गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा उनले ‘Make in Nepal, Made in Nepal’ अवधारणालाई व्यवहारमा उतार्न सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । हस्तकला क्षेत्रको विकासले रोजगारी सिर्जना, आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend