काठमाडौं । नेपाल उद्योग व्यापार महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदस्थापन कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ । महासंघको वैशाख १९ र २० गते नवलपुरको गैँडाकोटस्थित नारायणी रिसोर्टमा सम्पन्न चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले खिमनारायण पराजुलीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको महासंघले जनाएको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षको जिम्मेवारी खिमलाल भण्डारीले सम्हाल्ने भएका छन् भने वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त चयन भएका छन् ।
त्यसैगरी उद्योग उपाध्यक्षमा दामोदर नेपाल, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी तथा एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट रहेका छन् ।
पदस्थापन कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले महासंघले राष्ट्रिय पुँजी, श्रम, उत्पादन र बजारको संरक्षणलाई प्राथमिकतामा राख्दै स्वदेशी उद्योगको विकास तथा व्यापार विविधीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रभावकारी भूमिका खेल्ने बताएका छन् । उनले देशको आर्थिक अवस्था सुधार गर्न निजी क्षेत्र र राज्यबीच सहकार्य अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धन बिना आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गर्दै उद्योग तथा व्यापार क्षेत्रलाई नीति निर्माण तहबाटै प्रोत्साहन गर्नुपर्ने धारणा राखे । “देशको अर्थतन्त्र बलियो बनाउन उत्पादन, बजार र रोजगारीलाई एकसाथ अघि बढाउनुपर्छ,” उनले भने, “महासंघले उद्योगी तथा व्यवसायीहरूको हकहितका लागि निरन्तर आवाज उठाउनेछ ।”
अध्यक्ष पराजुलीले एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्याबारे पनि धारणा राखेका छन् । उनले सरकार, निजी क्षेत्र र उपभोक्ता पक्षबीच निरन्तर संवाद तथा सहकार्य बिना प्रभावकारी समाधान सम्भव नहुने बताए ।
उनका अनुसार बजारमा एउटै प्रकृतिको नीति सबै क्षेत्रमा लागू गर्दा व्यवहारिक कठिनाइ उत्पन्न भइरहेको छ । विशेषगरी पर्यटन उद्योगमा सेवा, सुविधा र आतिथ्यतासमेत जोडिने भएकाले विद्यमान एमआरपी व्यवस्था पूर्ण रूपमा व्यवहारिक नभएको उनको भनाइ थियो ।
“पर्यटन क्षेत्र केवल वस्तु बिक्रीको क्षेत्र होइन, यो सेवा र आतिथ्यतासँग जोडिएको उद्योग हो,” उनले भने, “त्यसैले यस क्षेत्रमा लागू हुने मूल्यसम्बन्धी व्यवस्था अन्य क्षेत्रभन्दा फरक हुनुपर्छ ।”
उनले पर्यटन क्षेत्रका व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारले छुट्टै नीति तथा मापदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याए । पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन लचिलो तथा व्यवहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले पनि वर्तमान आर्थिक चुनौती, बजारको संकुचन, लगानीको असुरक्षा तथा नीति अस्थिरताले निजी क्षेत्र प्रभावित भएको बताएका थिए । उनीहरूले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
महासंघले आगामी कार्यकालमा उद्योगी व्यवसायीको हकहित संरक्षण, स्वदेशी उत्पादन प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक नीतिमा निजी क्षेत्रको सहभागिता विस्तारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend