सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नीति तथा कार्यक्रममाथि ६ घण्टे बहस अपर्याप्तः भीष्मराज आङदेम्बे

नीति तथा कार्यक्रममाथि ६ घण्टे बहस अपर्याप्तः भीष्मराज आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अत्यन्तै अपर्याप्त रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

राजधानी काठमाडौंमा जारी नेपाल मोबाइल व्यवसायी महासंघ को तेस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता आङदेम्बेले मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले बहसलाई छोटो समयमै सीमित गरेको बताएका हुन् ।

उनले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने नीति तथा कार्यक्रममाथिको छलफल यसपटक केवल ६ घण्टामा सीमित गरिनु दुःखद रहेको उल्लेख गरे ।

“नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन, यो देशको भविष्यसँग जोडिएको विषय हो,” आङदेम्बेले भने, “माननीय सांसदहरूले आफ्नो धारणा विस्तृत रूपमा राख्न पाउनुपर्थ्यो, तर सरकारले बहसलाई संकुचित बनायो ।”

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मोबाइल तथा आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नदेखिएको टिप्पणी गर्दै सरकार अझै पनि भुईंतहका नागरिकको वास्तविक आवश्यकता बुझ्न नसकेको आरोप लगाए ।

दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन नसकेको भन्दै उनले गरिब तथा ग्रामीण जनताको पहुँचसम्म प्रविधि पुर्‍याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेता आङदेम्बेले सरकारले ‘डिजिटलाइजेसन’ र प्रविधिको विषयलाई जोडतोडका साथ उठाए पनि गाउँका किसान, मजदुर र निम्न आय भएका नागरिकसम्म गुणस्तरीय प्रविधि पुर्‍याउने स्पष्ट योजना नदेखिएको धारणा राखे ।

उनले सरकारले सञ्चालनमा ल्याएको नागरिक एप लाई प्रभावकारी बनाउन पनि सर्वसाधारणको हातमा गुणस्तरीय मोबाइल र सहज प्रविधि पहुँच अनिवार्य रहेको उल्लेख गरे । आगामी बजेटमार्फत नीति तथा कार्यक्रममा देखिएका कमजोरी सुधार गर्न उनले सरकारलाई आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend