सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनुभवी व्यवसायी उदय केसी ‘लाहुरे दाइ’ बरिष्ठ उपाध्यक्षमा : “मोबाइल व्यवसायीको हकहित र व्यवसायिक मर्यादाका लागि मेरो उम्मेदवारी”

अनुभवी व्यवसायी उदय केसी ‘लाहुरे दाइ’ बरिष्ठ उपाध्यक्षमा : “मोबाइल व्यवसायीको हकहित र व्यवसायिक मर्यादाका लागि मेरो उम्मेदवारी”

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन तथा पाँचौँ वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा सुरु भएको छ । देशभरका मोबाइल व्यवसायीहरूको उल्लेख्य सहभागिताबीच नेतृत्व चयनको माहोल तातिरहेका बेला गण्डकी प्रदेशका चर्चित व्यवसायी उदय केसी ‘लाहुरे दाइ’ ले बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
विगत २५ वर्षदेखि मोबाइल व्यवसायमा सक्रिय उदय केसी व्यवसायिक अनुभव, संगठन निर्माण र सामाजिक योगदानका कारण व्यवसायी माझ परिचित नाम मानिन्छन् । लामो समयदेखि मोबाइल व्यवसायीको हकहितका लागि विभिन्न संघ–संस्थामार्फत काम गर्दै आएका उनले आफूले व्यवसायबाट प्राप्त अनुभवलाई अब राष्ट्रिय स्तरको नेतृत्वमार्फत व्यवसायीको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका पूर्व अध्यक्षसमेत रहेका केसी नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष तथा वर्तमान उपाध्यक्षका रूपमा समेत सक्रिय छन् । संगठन विस्तार, व्यवसायीबीच एकता निर्माण, कर तथा नीतिगत समस्यामा व्यवसायीको आवाज उठाउने काममा उनले महत्त्वपूर्ण भूमिका खेलेको व्यवसायीहरू बताउँछन् ।
व्यवसायिक नेतृत्वसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय केसी पोखरा मोबाइल टावरका सञ्चालक तथा मनिषा मोनिका ट्रेडर्सका सञ्चालक हुन् । उनले साना तथा मध्यम मोबाइल व्यवसायीलाई संगठित गर्दै व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आफू निरन्तर लागिरहेको बताएका छन् ।
महाधिवेशनका क्रममा व्यवसायीहरूसँग भेटघाट गर्दै केसीले मोबाइल व्यवसायलाई केवल व्यापार नभई हजारौँ युवाको रोजगारी र परिवारको आधारका रूपमा हेर्नुपर्ने बताएका छन् । “आज मोबाइल व्यवसाय अनेक चुनौतीबाट गुज्रिरहेको छ । अवैध कारोबार नियन्त्रण, व्यवसायीको सुरक्षा, कर प्रणालीमा सुधार र नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्न सक्षम नेतृत्व आवश्यक छ,” उनले भने ।
उनले आफू बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए देशभरका व्यवसायीलाई एउटै सूत्रमा बाँध्दै महासंघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्था बनाउने प्रतिबद्धता जनाएका छन् ।
महाधिवेशनमा सहभागी व्यवसायीहरूले पनि लामो अनुभव, सरल व्यवहार र संगठनप्रतिको निष्ठाका कारण उदय केसी ‘लाहुरे दाइ’ नेतृत्वका लागि उपयुक्त उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् । अहिले चुनावी माहोल उत्साहपूर्ण बनेको छ भने विभिन्न पदका उम्मेदवारहरू आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend