सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्वास्थ्य केन्द्रमा अत्याधुनिक स्वास्थ्य उपकरण

प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्वास्थ्य केन्द्रमा अत्याधुनिक स्वास्थ्य उपकरण

गोरखा  । सम्भव नेपालका संस्थापक अध्यक्ष तथा समाजसेवी प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्थानीय तहका स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनका लागि आधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।

गोरखा नगरपालिका–२ स्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेनथापा गाउँपालिका–६ अश्राङस्थित शहिदस्मृति आधारभूत अस्पताललाई करिब ८० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य सामग्री उपलब्ध गराइएको कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए ।

अश्राङस्थित शहिदस्मृति आधारभूत अस्पताललाई डिजिटल प्रविधिको एक्स–रे (डीआर सिस्टम), भिडिओ एक्स–रे मेसिन, ईसीजी मेसिन, फ्रिज लगायतका उपकरण प्रदान गरिएको छ । त्यस्तै कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा व्यवस्थित प्रयोगशाला स्थापना गर्न आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

यी उपकरण सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सामान्य स्वास्थ्य परीक्षण तथा रिपोर्टका लागि सदरमुकाम, चितवन वा काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा सम्भव नेपालका अध्यक्ष खत्रीले उक्त सामग्री स्थानीय तह र स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँ लगायतको सहभागिता रहेको थियो । यस्तै अश्राङमा आयोजित कार्यक्रममा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिति रहेको बताइएको छ ।

स्थानीय तहका प्रमुखहरूले प्राप्त उपकरणहरूको सदुपयोग गर्दै छिट्टै स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सम्भव नेपालप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यलाई प्रभावकारी बनाउने बताएका छन् ।

खत्रीकै पहलमा यसअघि गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधारभूत अस्पतालमा करिब डेढ करोड रुपैयाँ लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालनमा रहेको जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend