काठमाडौं । शर्मा एण्ड कम्पनीका कार्यकारी निर्देशक रमेश शर्माले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै निर्माण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।
एक अनलाइन मिडियासँग प्रतिक्रिया दिँदै शर्माले आफूले वर्षौंदेखि निर्माण क्षेत्रमा इमान्दारीपूर्वक काम गर्दै आएको दाबी गर्दै अचानक प्रहरी परिचालन गरेर पक्राउ गर्न खोजिनु अत्यन्त पीडादायी भएको बताए ।
उनले भने, “राम्रो काम गर्दागर्दै नै प्रहरी लगाएर पक्राउ गर्न आउँदा म त छाङ्गाबाट खसेजस्तो भएँ । अब निर्माण क्षेत्रबाटै पलायन हुनुपर्छ कि भन्ने लागेको छ ।”
शर्माका अनुसार निर्माण व्यवसायीहरूले पछिल्लो समय अनेक प्रशासनिक दबाब, भुक्तानी समस्या, नीतिगत अन्योल र राज्य संयन्त्रबाट असहयोग झेलिरहेका छन् । यस्तो परिस्थितिमा व्यवसायीहरू निरुत्साहित हुँदै गएको उनको भनाइ छ ।
उनले आफूले सञ्चालन गरेका आयोजनामा पारदर्शी ढंगले काम गरेको दाबी गर्दै कुनै कमजोरी भए कानूनी प्रक्रियामार्फत छलफल र अनुसन्धान हुन सक्ने तर व्यवसायीलाई अपराधीसरह व्यवहार गर्नु उचित नभएको बताए ।
“देश विकासका लागि पूर्वाधार निर्माण गर्ने व्यवसायीलाई सम्मान गर्नुपर्ने ठाउँमा मानसिक रूपमा तोड्ने काम भइरहेको छ,” उनले भने, “यस्तो अवस्था रहिरह्यो भने निर्माण क्षेत्रमा लगानी गर्ने मानिस नै हराउन सक्छन् ।”
निर्माण व्यवसायीहरूले पछिल्लो समय सरकारी निकायबाट हुने दबाब, समयमा भुक्तानी नहुने समस्या र नीतिगत अस्थिरताका कारण व्यवसाय सञ्चालन कठिन बन्दै गएको गुनासो गर्दै आएका छन् । शर्माको पछिल्लो अभिव्यक्तिलाई पनि निर्माण क्षेत्रले भोगिरहेको व्यापक असन्तुष्टिको रूपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend