काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का नवनिर्वाचित अध्यक्ष टीआर भण्डारीले होटल तथा पर्यटन क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। उनले व्यवसायीमैत्री वातावरण निर्माण गर्न महासंघले सशक्त रूपमा आवाज उठाउने स्पष्ट पारे।
काठमाडौंमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले आफूलाई अध्यक्ष पदसम्म पुर्याउन व्यवसायीहरूले दिएको साथ र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताए। उनले व्यवसायीका साझा समस्या समाधानका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले होटल व्यवसाय अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै ती समस्यालाई व्यवहारिक र नीतिगत दुवै तहबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। “हामीसँग सम्भावना धेरै छन्, तर त्यसलाई अवसरमा बदल्न नीतिगत सहजता जरुरी छ,” उनले भने।
अध्यक्ष भण्डारीले नेपालमा पर्यटन क्षेत्रको भविष्य उज्यालो रहेको उल्लेख गर्दै पर्यटन विकाससँगै होटल व्यवसाय पनि मजबुत बन्ने धारणा राखे। पर्यटन क्षेत्र विस्तार भए सरकारको राजस्व, रोजगारी र समग्र अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पर्ने उनले बताए।

गत चैत अन्तिम साता पोखरा मा सम्पन्न महासंघको महाधिवेशनले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। उनी यसअघि महासंघको महासचिवको जिम्मेवारीमा थिए।
कार्यक्रममा सुरेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ का नवनिर्वाचित वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा नेपाल पर्यटन बोर्ड का कामु प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐर लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री श्रेष्ठले पर्यटन तथा होटल व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने आश्वासन दिए। उनले व्यवसायीका जायज मागप्रति सरकार सकारात्मक रहेको पनि बताए।
त्यसैगरी, उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायलाई उद्योगसरहको सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै अनावश्यक प्रशासनिक झन्झट हटाउनुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्दै पर्यटन बोर्डका कामु सिइओ ऐरले पर्यटन प्रवर्द्धन र व्यवसाय विस्तारका लागि महासंघसँग सहकार्य गर्न बोर्ड तयार रहेको बताए। कार्यक्रममा सहभागी प्रदेश तथा जिल्ला अध्यक्षहरूले पनि पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend