सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम ललितपुरमा सम्पन्न

सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम ललितपुरमा सम्पन्न

काठमाडौं  । नेपाल जन-प्रशासन संघ (PAAN) र जन प्रशासन क्याम्पस (PAC) को संयुक्त आयोजनामा सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम ललितपुरको सिद्धार्थ कटेज मा सम्पन्न भएको छ।
२०८३ साल वैशाख २७ गते आइतवार आयोजित कार्यक्रममा प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता तथा राज्य संयन्त्रप्रति जनविश्वास अभिवृद्धि गर्ने विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला विज्ञ, पूर्वप्रशासक, शिक्षाविद्, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संवाद कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा सुशासनको चुनौती, प्रशासनिक संरचनामा देखिएका समस्या, नीतिगत अस्पष्टता तथा कार्यान्वयन पक्षको कमजोरीबारे धारणा राखेका थिए। उनीहरूले प्रशासनलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन समयानुकूल सुधार अपरिहार्य रहेको बताएका थिए।
कार्यक्रममा टिप्पणीकारहरूले सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन राजनीतिक इच्छाशक्ति, दक्ष जनशक्ति विकास, प्रविधिको प्रयोग तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रण, नीति र व्यवहारबीचको अन्तर तथा कर्मचारीतन्त्रप्रतिको बढ्दो असन्तुष्टिबारे समेत चर्चा गरेका थिए।
वक्ताहरूले संघीय शासन प्रणालीलाई सफल बनाउन स्थानीय तहदेखि केन्द्रसम्मको प्रशासनिक संयन्त्रलाई थप जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, सुशासन केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई नागरिक समाज, सञ्चार क्षेत्र र शैक्षिक संस्थाको पनि साझा दायित्व भएको उल्लेख गरिएको थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्ता संवाद कार्यक्रमले प्रशासनिक सुधारका विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। आयोजक संस्थाहरूले आगामी दिनमा पनि नीति, प्रशासन र सुशासनसँग सम्बन्धित विषयमा नियमित संवाद कार्यक्रम सञ्चालन गर्ने बताएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend