सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकता र सहकार्यबाटै निजी क्षेत्र सुदृढ बन्छः राजेन्द्र मल्ल

एकता र सहकार्यबाटै निजी क्षेत्र सुदृढ बन्छः राजेन्द्र मल्ल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

उनले जारी गरेको शुभकामना सन्देशमा निर्वाचन प्रक्रियामा हार–जित स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई व्यक्तिगत रुपमा नभई संस्थागत परिपक्वताको संकेतका रूपमा लिनुपर्ने धारणा राखेका छन्। “हामी सबै एउटै उद्योग–व्यवसाय समुदायका सदस्य हौं भन्ने भावना सधैं अग्रस्थानमा रहनुपर्छ,” उनले भनेका छन्।

मल्लले अब व्यक्तिगत परिणामभन्दा माथि उठेर एकता, सहकार्य र साझा लक्ष्यतर्फ अघि बढ्ने समय आएको औंल्याएका छन्। निजी क्षेत्रको सुदृढीकरण, आर्थिक विकास र उद्यमशीलताको प्रवर्द्धनका लागि सबै पक्षको संयुक्त प्रयास अपरिहार्य रहेको उनको भनाइ छ।

नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले व्यवसायिक वातावरण सुधार, लगानी प्रोत्साहन तथा नीति सुधारका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन्। “सबैलाई समेट्दै अघि बढ्ने समावेशी नेतृत्वले मात्र निजी क्षेत्रलाई थप सशक्त बनाउन सक्छ,” उनले जोड दिएका छन्।

मल्लको शुभकामना सन्देशले निजी क्षेत्रभित्र सहकार्य र एकताको आवश्यकता औंल्याउँदै नयाँ नेतृत्वलाई साझा जिम्मेवारी पूरा गर्न प्रेरित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend