झण्डै १५ करोडको कारोबार गर्दै १४ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । राजधानीमा चलिरहेको नेपाल १४ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपियाँको कारोबार भएको छ । मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताउनुभयो । अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।
स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।
समापन समारोहमा उत्कृष्ट बाजुराको हिमालयन अल्लो, झापाको रानीदेमा अर्गा्निक प्लेट उद्योग, भक्तपुरको हेल्पिङ हेण्ड फेल्ट क्राफ्ले, बुटवलको लाङ्घाली अचार प्रोडक्सन एण्ड सप्लायर्स, ललितपुरको सविता कपडा उद्योग र लाहानको महिला हस्तकला उद्योगलाई उत्कृष्ट उद्यमी तथा उद्योगी सम्मानद्घारा सम्मानित गरिएको थियो ।
मेलामा रक्षामन्त्री इश्वर पोख्रेल, पूर्व मन्त्रीहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरीप्रभा खड्गी, उद्योग तथा वाणिज्य सचिव यामकुमारी खतिवडा तथा नेपाल सरकारका उच्च पदस्त कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उहाँले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो ।
तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिएको प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेको मेला संयोजक मोहन कटवालले बताउनुभयो ।
मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई पनि समावेश गरिएको महासंघले जनाएको छ । नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजित मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका थिए । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend