काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् ।
छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट पारे ।
“मदन भण्डारीले अगाडि सारेको विचारले धारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता ?
यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।” भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनको भनाइ थियो । अध्यक्ष ओलील भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले बिहीबार मात्र जनवर्गीय सङ्गठनको एकता गरिएको छ भन्दै पार्टी एकतालाई फराकिलो ढङ्गले लैजानुपर्नेमा जोड दिए । उनले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउने थालिएको समेत स्पष्ट पारे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend