काठमाडौं, बैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्दा भियतनामी प्रधानमन्त्रीले स्वागत गरेका थिए भने भियतनामी सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।
उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो । द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए ।
आगामी वर्ष २०२० मा हुने नेपाल भ्रमण वर्षमा नेपालले वैशाख दिवस आयोजना गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन् ।
दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे पनि छलफल गरेको बताइएको छ ।
सो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राखेको भियतनामी अधिकारीले जनाएका छन् । उनले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताए ।
यसैबीच नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पु¥याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend