१७ जेठ , काठमाडौँ। नेपाल सरकारअन्तर्गतको राष्ट्रिय युवा परिषदको परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित भएका छन्। शुक्रबार सानोठिमीस्थित परिषदको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा नयाँ कार्यसमितिको चयनसँगै नेतृत्व हस्तान्तरण गरिएको हो। कार्कीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले अबको दुई वर्षसम्म परिषद अन्तर्गतका सीपमा आधारित युवाहरूको सञ्जाल सञ्चालन गर्नेछ।
कार्यक्रममा उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास र सहकोषाध्यक्षमा विक्रम लकान्द्री चयन भएका छन्। यस्तै, सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वती भट्टराई रहेका छन्।
नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा परम्परागत सीपको संरक्षण, व्यवसायिक रूपान्तरण र सरकारी नीतिसँग समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए। उनले सञ्जालमार्फत सीपमा आधारित युवा वर्गलाई एकजुट गर्दै रोजगारी, नवप्रवर्तन र उद्यमशीलतामा टेवा पुर्याउने लक्ष्यसहित अगाडि बढ्ने घोषणा गरे।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीपमा आधारित व्यवसायलाई समृद्धिको मुख्य आधार मान्दै सबै युवाहरूलाई आफ्नो सीप र पेशामा गर्व गर्ने र आधुनिक व्यवस्थापनसँग जोडिन प्रेरित गरे। उनले सञ्जालमा चयन भएका प्रतिनिधिहरूलाई बधाई दिँदै स्थानीय तहदेखि संघसम्मका नीति निर्माण प्रक्रियामा सक्रिय भएर सहभागी हुन आह्वान गरे।
कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो। उनीहरूले युवा नेतृत्वलाई जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्दै सञ्जालको प्रभावकारिता अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
अबको कार्यकालमा यो सञ्जालले नेपालको परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै स्वरोजगार, सीप हस्तान्तरण र नवप्रवर्तनमा युवाहरूको पहिचान स्थापित गर्न अग्रसर हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend