काठमाडौं । नेपाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार ( १५ जेठ ) उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियोजन भएको हो ।
उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।
बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको छ ।
बजेट उत्ताउलो र गैरजिम्मेवार छैन : स्वर्णिम वाग्ले
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बारे राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिएका छन् । अर्थशास्त्रीसमेत रहेका उपसभापति वाग्लेले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे ।
त्यस्तै , सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको भएको समेत उनको भनाइ छ । उनले अगामी आर्थिक वर्ष समेत बजेट भाषणको बेला ठूलो आकारमा बजेट फुक्ने र मागमा गएर सुकाउने पुरानो रोगको सिकार हुने चिन्ता रहेको समेत उपसभापति वाग्लेले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend