१५ जेठ ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले गणतन्त्र दिवसका अवसरमा आज बृहत जनसांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संगठनको संस्कृति तथा खेलकुद विभागको आयोजनामा बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत जन–सास्कृतिक कार्यक्रम गर्न लागेको संगठनले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
गणतन्त्र दिवसको दिनमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने जन–सांस्कृतिक कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि विशेष उपस्थिति रहने संगठनले जनाएको छ ।
संगठनका अध्यक्ष अम्बादत्त भट्टका अनुसार कार्यक्रममा कलाकार रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा सामाजिक व्यवस्थामा आधारित नाटक ‘जनताको सपना’ प्रदर्शन हुनेछ । नाटकमा मुकुन्द मैनाली, सरिता ढुंगाना, दिव्या कार्की, सानु पाण्डे, अञ्जली थापा, सुलोचना पोखरेल, बासुदेव खनाल, सुजन आचार्य, सन्तोष गिरी, मिना सुवेदी, टेकविक्रम थापा, विपुल थापा लगायतका कलाकार रहेका छन् । त्यस्तै , कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिंखडा र श्रीकृष्ण सिंखडा, जनवादी गायक जिवन शर्मा र झंकार बुढा, गायक टिका पुन, बिष्णु खत्री, सम्भु राई, नविन खड्का, स्मिता दाहाल, लगायतका कलाकारले विशेष प्रस्तुती पनि दिने अध्यक्ष भट्टले पत्रकार सम्मेलनमा जानकारी गराए ।
कार्यक्रममा कर्णाली र सुदूरपश्चिमको हुड्के नाथ, मधेश प्रदेशको मिथिला तथा भोजपुरी नथा, बागमती प्रदेशको तामाङ सेलोसँगै मारुनी नाच, कौडा नृत्य लगायतका विशेष प्रस्तुती देखाइनेछन् ।
जनताको ठुलो योगदानबाट प्राप्त भएको गणतान्त्रिक व्यवस्था विरोधी गतिविधि बढिरहेका बेला नेपाली जनताले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, समानता र न्यायका लागि संघर्ष र वलिदानमार्फत स्थापित भएको समाजबाद उन्मुख संघीय समावेशी गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि वृहत जन–सास्कृतिक कार्यक्रम आयोजना गरिएको अध्यक्ष भट्टले बताए ।
कार्यक्रम मार्फत संविधानको कार्यान्वयन, आत्मनिर्भर राष्ट्रनिर्माण, कृषिमा आधारित उद्यमशीलतालाई मर्यादित पेशाको रूपमा स्थापित गर्न गराउन, युवामा व्याप्त निराशा चिर्दै विदेश पलायन निरुत्साहित गर्दै स्वदेशमै उद्यमशीलता मार्फत रोजगारी सिर्जना गरी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र भन्ने भाव दिन खोजिएको उनले स्पष्ट पारे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend