बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

साँगे दर्पण पुस्तकको लोकार्पण

साँगे दर्पण पुस्तकको लोकार्पण

११ जेष्ठ, काठमाडौं ।साँगे सभ्यता संरक्षण तथा विकास अभियानले  जेठ १० गते शनिवार साँगे दर्पण पुस्तकको लोकार्पण गरेको छ। सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा आयोजित भव्य कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्व न्यायाधीश कृष्णबल्लभ काफ्ले, काठमाडौँ विश्वविद्यालय कानुन संकायका डीन एवं पूर्व न्यायाधीश डा. ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, संयोजक सुरेन्द्र वाग्ले, राउँदार सम्पादक एवं महासचिव सरोज ओझा लगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

समारोहका मुख्य अतिथि पुरुषोत्तम ओझाले कार्यक्रममा मन्तव्य दिँदै साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु अत्यन्त सान्दर्भिक कार्य रहेको उल्लेख गरे। उनले त्यस्तो प्रयासले साँगे क्षेत्रको पहिचानलाई थप प्रगाढ र बलियो बनाउने विश्वास व्यक्त गरे। डा. रघुराज काफ्लेले यस पुस्तिका नीति निर्माण र योजना विकासका लागि समेत उपयोगी मार्गदर्शक बन्न सक्ने धारणा राखे।

साहित्यकार सरोज ओझाले भने, “तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्दै भावी पुस्ताका लागि मार्गदर्शन गर्ने उद्देश्यले यो खोजमूलक सन्दर्भ सामग्री तयार पारिएको हो।” पुस्तक समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मीले साँगे दर्पणलाई संग्रहनीय र पठनीय दुवै दृष्टिले महत्वपूर्ण ठहर्याए। अभियानका संयोजक सुरेन्द्र वाग्लेले यस पुस्तकले साँगे सभ्यतालाई भावी पुस्तामा गौरवका साथ सम्झाइरहने विश्वास व्यक्त गरे।

उक्त अवसरमा प्रदेश र राष्ट्रिय स्तरमा साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका दर्जनौँ अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। पूर्व सचिव पुरुषोत्तम ओझा, कृष्णबल्लभ काफ्ले, डा. ऋषिकेश वाग्ले, डा. रघुराज काफ्ले, माधवप्रसाद ओझा, डा. गान्धी पण्डित, ई. श्रीभद्र वाग्ले, ई. शंकर पण्डित, केदारनाथ वाग्ले, बाबुराम भण्डारी, माधवप्रसाद भारद्धाज, दीपेन्द्रकेशरी न्यौपाने, यज्ञस पण्डित, भूवनेश्वरी पण्डित अधिकारी, सरस्वती न्यौपाने र दामोदर भण्डारीलाई साँगे गौरव सम्मान प्रदान गरियो। बालदिवस पण्डित, गोविन्दराज वाग्ले र बलबिक्रम शाहीलाई क्रमशः साँगे दर्पण सर्वोकृष्ट दाता, उत्कृष्ट दाता र दाता सम्मानले विभूषित गरियो। उहाँहरूलाई संयोजक सुरेन्द्र वाग्ले र महासचिव सरोज ओझाले माला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend