११ जेष्ठ, काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग विशेष सहकार्य गर्ने उद्देश्यले औपचारिक सम्झौता गरेको छ । यो सम्झौता एक्यानमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै विशेष वित्तीय सेवाहरू प्रदान गर्ने बैंकको प्रतिबद्धताको रूपमा प्रस्तुत गरिएको हो । एनएमबि बैंकले समावेशी तथा मूल्यमा आधारित बैंकिङ सेवामार्फत पेशागत समुदायलाई सहयोग पुर्याउने उद्देश्यले यो साझेदारी अघि बढाएको जनाएको छ ।
सम्झौताअनुसार, एक्यान सदस्यहरूलाई ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड, ग्रीन सेभिङ खाता लगायतका डिजिटल र कार्ड सेवाहरू उपलब्ध गराइनेछ । साथै, प्राथमिक बैंकिङ सेवाको विशेष सुविधा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापनको सुविधा पनि प्रदान गरिनेछ । यस प्रकारको सहकार्यले पेशागत वर्गहरूलाई लक्षित गर्दै बैंकिङ पहुँचलाई अझ सुदृढ बनाउने तथा दीगो वित्तीय समाधानहरू उपलब्ध गराउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन तथा आर्थिक विकासमा पेशागत वर्गको भूमिकालाई उच्च मान्यता दिँदै आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको छ । हाल बैंकले देशभर २०२ शाखा, १८७ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend