९ जेठ, काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
भेटका क्रममा संघका पदाधिकारीहरूले गभर्नर पौडेललाई जिम्मेवारीको सफल कार्यकालको कामना गर्दै बैंकिङ प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउने अभियानमा राष्ट्र बैंकको निरन्तर सहयोगको अपेक्षा रहेको उल्लेख गरे।
जवाफमा गभर्नर पौडेलले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै, हाल देखिएका आर्थिक चुनौतीहरूको समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।
उनी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका हुन्। गभर्नर सिफारिस समितिले प्रस्तुत गरेको सूचीमा पहिलो स्थानमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा नियुक्त गरेको हो।
पौडेल यसअघि २०७८ साउन १२ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। उनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा उक्त जिम्मेवारीमा आएका थिए। नवीन नेतृत्वबाट बैंकिङ क्षेत्रमा सुधार, सुशासन र लगानीमैत्री वातावरणको अपेक्षा बढेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend