बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुभाष घिमिरेद्वारा लिखित “सान्दाजु” उपन्यासको लोकार्पण

सुभाष घिमिरेद्वारा लिखित “सान्दाजु” उपन्यासको लोकार्पण

५ जेठ , काठमाडौं । लेखक सुभाष घिमिरेद्वारा लिखित “सान्दाजु” उपन्यासको लोकार्पण गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा सोमबार आयोजित विशेष समारोहमा यस औपन्यासिक कृतिको सार्वजनिक गरिएको हो।

लोकार्पण समारोहमा लेखक सुभाष घिमिरेले “सान्दाजु” उपन्यास नेपाली कांग्रेस पार्टीका संस्थापक समेत रहेका नेता ‘जननायक’ बीपी कोइरालाको जीवन, विचार र संघर्षहरूलाई आधार मानेर लेखिएको ऐतिहासिक दस्तावेज भएको जानकारी दिए। “बीपी कोइरालाको राजनीतिक व्यक्तित्व, साहित्यिक योगदान र उदार मानवतावादी दृष्टिकोणले सदैव प्रेरित गरेकाले यो उपन्यास लेखेको हुँ”, उनले भने ।

प्रस्तुत उपन्यासमा कांग्रेसजनले ‘जननायक’ भन्ने गरेका बीपी कोइरालाको जीवनका महत्वपूर्ण पक्षहरू, कठिन परिस्थितिहरूमा उनले देखाएका साहस, देश र जनताप्रतिको उनको निःस्वार्थ समर्पण, र लोकतन्त्रका लागि उनले गरेका त्याग र बलिदानलाई यस उपन्यासको चुडामणि उपाध्यय पात्रमार्फत उजागर गर्ने प्रयास गरेको लेखक घिमिरेले उल्लेख गरे। लेखकले यसअघि अमेरिका अनुभूति डायरी ( ( २०७९ ) , मौन विद्रोह उपन्यास ( २०८०) , द साइलेन्ट रिबेलियन उपन्यास ( २०८० ) लगायतका सृजना प्रकाशित गरिसकेका छन् ।

कार्यक्रममा समालोचक डा. तुलसी भट्टराईले रिपोर्टाज शैलीमा लेखिएको उपन्यास विषय र प्रस्तुतिको शैलीले पनि उल्लेखनीय र पठनीय रहेकोमा लेखकको प्रशंसा गरे। त्यस्तै , समालोचक शंकर तिवारीले बीपी कोइरालाको नायकत्व चित्रण गर्ने यो नै सर्वोत्कृष्ट औपन्यासिक कृति रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तकले नेपाली राजनीतिका सार्वकालिक र लोकप्रिय पात्र बीपी कोइरालाको जीवनका महत्त्वपूर्ण पलहरुका साथै कांग्रेस पार्टीको इतिहासको कालखण्ड समेत समेट्न सकेको बताए । कोइराला परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बारेमा लेखकले थप प्रकाश पार्न सकेका उनले बताए । पुस्तक पढ्दा आनन्द अनुभूति गरेको उनले बताए ।

महामन्त्री थापाले नेपालका वामपन्थी पार्टीहरुदेखी राजसंस्था चाहने राष्ट्रवादी शक्तिहरुले समेत बीपी कोइरालाको प्रसंशा गर्ने गरेको उल्लेख गरे। उनले कांग्रेसका कार्यकर्ताले पार्टीको इतिहास बुझ्न पहिला बीपी कोइरालालाई बुझ्नु आवश्यक रहेको बताए ।

उनले युवावर्गलाई देशप्रती भरोसा टुटेर विदेशिने लहर चलेको अवस्थामा नेपाल बन्छ भन्ने भरोसा नेपाली कांग्रेसले दिन सक्नुपर्ने बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend