१ जेठ , काठमाडौं । गैर आवासीय नेपाली संघले “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” काठमाडौंमा सम्पन्न गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुधबार ( ३१ वैशाख , २०८२ ) दरबारमार्गको याक एण्ड यती होटेलमा सम्पन्न सम्मेलनको मुल भाव “एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार ” भन्ने रहेको थियो ।
डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघको उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनमा हारेका १७ जनाले अर्को संगठन बनायौं भन्दैमा एनआरएनए विभाजित नहुने प्रष्ट पारेका छन् । यससँगै, गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको प्रयासलाई सरकारले खारेज गरेको छ।
प्रधानमन्त्री ओलीले अदालतले नै आगामी कात्तिकसम्म यो नेतृत्वलाई बैधानिकता दिइसकेकाले अर्को भेला गरेकाहरुलाई पनि वार्ताबाट सहमतिमा ल्याउन आग्रह पनि गरेका छन् ।
“निर्वाचित अध्यक्ष र निर्वाचित कमिटी छ एकातिर छ, अधिवेशनमा हारेकाहरू भेला भएर यो चाहिँ आधिकारिक एनआरएनए हो भन्ने कुरा शोभनीय होइन । यसलाई न त कोर्टले मान्यता दिन्छ, न त सरकारले दिन्छ” , प्रधानमन्त्री ओलीले सम्मेलनमा भनेका छन् । उनले संस्थाको मर्यादा जोगाउन संस्था विभाजन गर्नेहरुलाई सम्झाइ-बुझाइ गरेर संस्थालाई बलियो बनाउन आग्रह समेत गरे।
प्रधानमन्त्रीले शेष घलेप्रति लक्षित गर्दै श्रीमानका लागि बेग्लै विधान, श्रीमतीका लागि फेरि अर्को विधान संशोधन गर्ने,हारेकाले म अध्यक्ष हुँ भन्ने प्रवृतिले संस्था बलियो नहुने बताएका थिए ।
एकता महाधिवेशनको नाममा हालै शेष घलेको सहभागितामा भएको कांग्रेसको एउटा पक्ष र माओवादीको भेलाले अध्यक्ष डा.बद्री केसीसँग पराजित भएका महेश श्रेष्ठलाई अध्यक्ष बनाउँदै एनआरएन आधिकारिकताको दावी गरेको थियो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र माओवादी अध्यक्ष प्रचण्डले आधिकारिकता दिएको सो नेतृत्वलाई प्रधानमन्त्रीले प्रष्ट शब्दमा खारेज गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend