सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजसंस्था पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा

राजसंस्था पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा

२५ वैशाख , काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि अनिश्चित कालीन संयुक्त जनआन्दोलनको घोषणा गरिएको छ। नवराज सुवेदी नेतृत्वको “राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति” ले आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापना नभएसम्म नटुंगिने निर्णय गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन मार्फत संयुक्त जनआन्दोलन समितिले निर्णायक संयुक्त आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य देशको लागि राजसंस्था आवश्यक छ भन्ने शक्तिहरू र स्वतन्त्र नागरिकहरु सामेल रहनेछन् । आजको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा , राष्ट्रवादी नेता केशर बहादुर विष्ट समेत उपस्थित भएका थिए।

‘यो आन्दोलन कुनै पार्टी वा व्यक्तिको नभएर नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने छ,’ संयुक्त जनआन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै , यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता नरहने गरेको पनि  विज्ञप्तिमा जनाइएको छ । जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न संयोजक नवराज सुवेदीले अपिल गरेका छन् । आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।

लोकतान्त्रिक संवैधानिक राजसंस्थासहितको , सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजीका तीन प्रतिवद्धता सहित अबको आन्दोलन गरिने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था लोकतन्त्रको विरोधी नरहेको स्पष्ट पारेका छन् । उनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन भएको बताए ।

‘देश यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानुपर्यो । जहाँ कि राजादेखि सबै शक्ति अटाउन सकोस्’, लिङ्देनले भने।

अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताए । लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकर्ताहरुलाई धुर्वीकरण हुन आह्वान गरे । उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend