२४ वैशाख , ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् – ‘नार्क’ का निमित्त कार्यकारी निर्देशक डा. दोजराज खनालले देशमा भविष्यको खाद्य सुरक्षालाई सुनिश्चित गर्नको लागि खाद्यान्न उत्पादनमा वृद्धि गर्न राज्यले अनुसन्धानमा पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नार्कको ३४औँ स्थापना दिवसको पूर्वसन्ध्या पारेर राष्ट्रिय माटो विज्ञान केन्द्र खुमलटारमा ललितपुरमा आज आयोजित पत्रकार- वैज्ञानिक अन्तर्क्रिया कार्यक्रममा डा. खनालले नेपालको कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको पनि बताए ।
‘सबल कृषि अनुसन्धान: खाद्य सुरक्षा र समृद्धिको लागि वरदान’ भन्ने नाराका साथ बिहीबार ( २५ वैशाख ) स्थापना दिवस मनाउन लागिएको नार्कले जनाएको छ ।
पत्रकार सम्मेलनमा नार्कले हालसालै विकसित गरेको प्रविधिबारे नार्कका योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेलले जानकारी दिएका थिए । उनले ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको र जीडीपीको २५ प्रतिशत कृषिमा आश्रित भए पनि कृषि अनुसन्धानमा राज्यको लगानी कम भएको बताए । ‘राष्ट्रिय नार्कमा ०.१९ प्रतिशत मात्रै राज्यको लगानी छ’, उनले भने । त्यस्तै , दरबन्दीको आधा प्रतिशत पनि कर्मचारी संख्या नभएको अवस्थामा नार्कले आफ्नो गतिविधिलाई संतोषजनक कायम राखेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले गत वर्ष नेपालको केरा उद्योगलाई वैज्ञानिकहरूले समयमै रोग चिनेर ध्वस्त हुनबाट बचाएको जानकारी गराउँदै राज्यले नार्कका वैज्ञानिकको सिपलाई पुरा सदुपयोग गर्न नसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान निर्देशक डा. राजेन्द्र दराई, राष्ट्रिय पशु विज्ञान अनुसन्धान निर्देशक डा. नीना अमात्य एवं महाशाखा प्रमुख र वैज्ञानिकहरूको समेत उपस्थिति थियो । कार्यक्रममा पत्रकारहरूले नार्कलाई स्थानीय पालिकाहरु संग समन्वय गर्नुपर्ने , प्रकाशन प्रसारणलाई नयाँ मिडिया माध्यमको पनि प्रयोग गर्नुपर्ने, हरेक तीन महिनामा अन्तर्क्रिया छलफल गर्नुपर्ने र मिडिया व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको अवधारणा अनुरुप २५ वैशाख २०४८मा स्थापित स्वायत्त सरकारी संस्था हो । कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने र कृषिसम्बन्धि नीति तर्जुमाको लागि सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नार्कको स्थापना गरिएको हो ।
जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक-आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण र सेवा तथा परामर्श नार्कको कार्यक्षेत्र रहेको छ । नार्कले देशको भौगोलिक तथा पारिस्थितिकीय विविधताको प्रतिनिधित्व हुने गरी विभिन्न क्षेत्रमा अवस्थित ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्यक्रम संचालन गर्दै आएको छ ।
त्यससँगै , नार्कले कल सेन्टर ११३५ बाट किसानका जिज्ञासा समाधान गर्ने, ७५३ वटै पालिका तथा कृषिसंग सम्बन्धित निकायहरूमा कृषि मौसम सल्लाह बुलेटिन पठाउने पनि गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend