२३ वैशाख, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आसन्न निर्वाचनलाई लक्षित गर्दै वर्तमान वरिष्ठ उपाध्यक्ष उमेश कुश्वारले शनिबारको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एक दशक देखि नै संस्थामा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका कुश्वारले लामो अनुभव र नेतृत्व क्षमताका साथ आगामी कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले एक औपचारिक विज्ञप्ति जारी गर्दै आफ्नो योजनाबद्ध अभियानबारे जानकारी दिएका छन्।
कुश्वारले विगतका विभिन्न तह र भूमिकामा रहेर आफूले गरेको योगदान फेकनको विकासमा महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। सदस्य, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको यात्रामा उनले संघको सांगठनिक संरचना सुदृढ बनाउने, सदस्यहरूको हकहित सुनिश्चित गर्ने, र अन्तर्राष्ट्रिय क्षेत्रमा संघको उपस्थिति मजबुत बनाउने प्रयासलाई निरन्तरता दिएको दाबी गरेका छन्।
उनका अनुसार आफ्ना कार्यकालहरूमा फेकनले बहुआयामिक उपलब्धिहरू हासिल गरेको छ। ती उपलब्धिहरूमा आधुनिक प्रविधियुक्त र व्यवस्थित वार्षिक साधारण सभाको सफल आयोजना, सदस्यहरूका लागि व्यावसायिक तथा व्यक्तिगत विकासलाई केन्द्रमा राखी विविध कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजहरूसँग प्रत्यक्ष सहकार्यको सुरुआत तथा अन्तरसंवादको पुल निर्माण, साथै अस्ट्रेलियामा सम्पन्न ऐतिहासिक फार्म ट्रिप जस्ता उल्लेखनीय गतिविधिहरू रहेका छन्।
यति मात्र होइन, कुश्वारले विदेशी अध्यागमन निकाय, शिक्षा मन्त्रालयहरू र दूतावासहरूसँग रणनीतिक र कूटनीतिक सम्बन्ध कायम गर्दै फेकनको अन्तर्राष्ट्रिय छवि निर्माणमा विशेष जोड दिएका छन्। नेपाली डायस्पोरा संस्थासँगको सहकार्य, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू — जस्तै फेकन फुटसल प्रतियोगिता र वृहत् पिकनिक — साथै संस्थाको इतिहास झल्काउने आधिकारिक भिडियो निर्माण समेत उनको कार्यकालमा सम्भव भएको हो।
आगामी कार्यदिशाबारे स्पष्ट दृष्टिकोण र विस्तृत कार्ययोजना सार्वजनिक गर्दै कुश्वारले फेकनलाई अन्तर्राष्ट्रिय स्तरको विश्वासिलो र प्रतिस्पर्धी शैक्षिक परामर्श संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रविधि मैत्री सेवा प्रणाली विकास गर्न ‘फेकन एप’ को सशक्त प्रयोग, डिजिटल सेवा विस्तार, र छात्रवृत्ति तथा परामर्शलाई व्यवस्थित बनाउने लक्ष्य लिएका छन्।
उनको आगामी योजना अनुसार, विदेशमा निधन भएका नेपाली विद्यार्थीहरूका शव नेपाल ल्याउन ‘विशेष सहायता कोष’ स्थापना गरिनेछ। साथै, सदस्यहरूको सुरक्षाका लागि बीमा योजना कार्यान्वयन, वार्षिक अन्तर्राष्ट्रिय शैक्षिक मेलाको आयोजना, तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेपालमै अध्ययनको अवसर दिने वातावरण निर्माणका लागि पहल गरिनेछ।
त्यस्तै, आपतकालीन अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग पुर्याउने ुहेल्प डेस्कु स्थापना, विदेशी शैक्षिक संस्थाहरूसँग सहकार्य विस्तार, तथा नेपालमै अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन आयोजना गर्दै देशको शैक्षिक पर्यटनलाई प्रवर्द्धन गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।
उनले सदस्यहरूको हितमा कार्य गर्ने संस्थाको रूपमा फेकनलाई अझ पारदर्शी, समावेशी, उत्तरदायी र सदस्य–केन्द्रित संस्था बनाउने प्रतिबद्धता जनाएका छन्। विशेषगरी महिला सदस्यहरूको सशक्त सहभागिता सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न रणनीतिक साझेदारीहरू खोज्ने, तथा क्षमता अभिवृद्धि गर्न नियमित तालिम, सेमिनार र कार्यशाला सञ्चालन गर्ने कार्यक्रमहरू पनि उनका प्राथमिकतामा छन्।
कुश्वारले कानुनी तथा आकस्मिक अवस्थाहरूमा सदस्यहरूलाई आवश्यक आर्थिक र प्रशासनिक सहयोग उपलब्ध गराउने प्रणाली निर्माण गर्ने वाचा पनि गरेका छन्।
उनले फेकनलाई व्यवस्थित, सुदृढ र दीर्घकालीन विकासको बाटोमा लैजान आफू सक्षम, इमानदार र परिणाममुखी नेतृत्व प्रदान गर्न तयार रहेको स्पष्ट पारेका छन्।
“हामीसँग भएको अनुभव, संकल्प र सहकार्य नै फेकनको उज्यालो भविष्यको आधार हो,” भन्दै उनले सबै सदस्यहरूलाई समर्थन र विश्वासका लागि आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend