२३ वैशाख , काठमाडौं । देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र त्यसका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अग्रपंक्तिमा रहेको तथ्य नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले विपक्षी दलका नेता दाहालले देशैभरी शहीद गेट र भ्यू टावरको नाममा बजेटको दुरुपयोग गरेको बताएका हुन् । उनले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी पनि गरेका छन् ।
सचिव भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गरे । उनले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताए ।
माओवादी पहिलो पटक सरकारमा गएकै बेला युवा स्वरोजगार कोषबाट बिना धितो र बिना कागज सहकारीका नाममा गएको करोडौँ रकम अहिले पनि महालेखाले बेरुजुमा राखेको उनले स्मरण गराए । नेता भट्टराईले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न समेत गरे ।
‘ घिसिङको सन्दर्भमा सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो तर तपाईँको मुटुमा किला ठोके जस्तो किन भयो ? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो, तपाईँले त प्रधान सेनापति नै हटाउनुभएको होइन ? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो ? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषदको सल्लाकार पोष्ट खडा गर्नुभयो । तपाईँले अर्को मुख्य सचिव ल्याउनुथियो, अनि त्यसो गर्न मिल्थ्यो ?’ , भट्टराईले माओवादी अध्यक्ष दाहाललाई प्रश्न गरे। सरकारको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा र कार्यान्वयन नहुने खालको नभई यसपटक फरक ढंगले आएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend