सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं बार्षिकउत्सव सम्पन्न

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं बार्षिकउत्सव सम्पन्न

२१ बैशाख, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाली श्रम बजारमा देखिएको अभाव ,बेरोजगारीको हल्ला र युवाहरुको बैदेशिक पलायनतालाई रोक्न सरकारले डिजिटल प्लेटफर्म मार्फत अगाडी बढ्ने गरि श्रम संसार नामक एप्स् संचालनमा ल्याएको बताउनु भएको छ ।आज ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री भण्डारीले निकट भविश्यमै यसलाई नागरिक एप्स् संग जोडेर आम नागरिकको हात हातमा पुर्याउने योजना रहेको बताउनु भयो ।

उहाँले कामदार आवश्यक पर्ने उद्योग ,कम्पनि र काम गर्न ईच्छुक कामदारहरुलाई एकै ठाउँमा जोडेर समस्याको समाधान निकाल्न मन्त्रालयले यस्ता धेरै महत्वपुर्ण योजनाहरु ल्याउन लागेको जानकारी दिनु भयो । मन्त्री भण्डारीले रहरले बिदेश जाने वा धेरै पैसा कमाउन बिदेश जानेहरुलाई रोक्न नसकिने तर बाध्यात्मक अवस्थामा बिदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न सरकाले भरपुर प्रयास गरेको बताउनु भयो । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति,राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखती , महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल, महासंघको वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठ, समाजसेवी तथा नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी रहनु भएको थियो ।

महासंघ अन्तरगत रहेका प्रदेश समिति ,महिला समिति ,जिल्ला समिति, क्षेत्रीय समिति तथा ईकाइ समितिका अध्यक्ष तथा पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा आगन्तुकहरुलाई स्वागत गर्दै महासंघका अध्यक्ष ठुलो बाबु श्रेष्ठले संस्था दर्ताको उदेश्य देखि ३० बर्षको यात्रामा भएका उपलब्धि र बिभिन्न आरोह अवरोह तथा भावी कार्ययोजना बारे चर्चा गर्नु भएको थियो । श्रेष्ठले ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर बैचारिक बिमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले हामिले ल्याएको परिवर्तनको चित्रण गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सहयोगमा यो बर्ष बाट महासंघले नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान समिति,राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान संगको सहकार्यमा हाम्रो व्यवसाय लाई आवश्यकपर्ने बिभिन्न तालिमहरु संचालन गर्ने सम्झौता समेत गरेको र त्यसका लागि कार्यक्रमको मोडल तयार गर्न महासंघबाट तोकिएका प्रतिनिधिहरुले बिभिन्न विज्ञहरु संग परामर्श गरिरहनु भएको बताउनु भयो ।

कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार निरन्जनकुमार श्रेष्ठले आफ्नो मनतव्य राख्दै २०५० साल तिर ग्रील व्यवसायीहरु पनि एकजुट भएर आफ्नो हक अधिकारको लागि अगाडी बढ्नु पर्छ भन्ने उदेश्यका साथ गठन गरिएको सानो समुह आज महासंघको रुपमा स्थापित भएर यहाँ सम्म आई पुग्दा आफुलाई अत्यन्तै खुसी लाग्ने गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले इकाई समिति देखि महासंघ सम्म कसले के गर्यो भनेर प्रश्नहरु गर्नु भन्दा पनि मिलेर अगाडी बढ्नु आजको आवश्यकता रहेको बताउनु भयो । ग्रील तथा स्टील व्यवसायीहरुलाई आम उपभोक्ताहरुले जति माया गर्नु भएको छ त्यति मात्रामा नेपाल सरकारले महत्वको साथ नहेरेकोले महासंघको बिकासमा मात्र हैन आम व्यवसायीहरुको व्यवसायमा समेत प्रभाव परेको बताउनु भयो।
कार्यक्रममा काठमाडौं जिल्लका अध्यक्ष सुनिलकुमार अमात्य तथा ललितपुर जिल्लाका अध्यक्ष भागवत सुबेदीले मनतव्य राख्दै व्यवसायीहरुको समस्या र समाधानको बिषयमा चर्चा गर्नुभयो ।

कार्यक्रमलाई महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले आफ्नो भनाई सहित समापन गर्नु भएको थियो । महासंघका महासचिव विवेकदास श्रेष्ठले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend