२१ वैशाख , काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैर आवासीय नेपाली(एनआरएनए)को परिचयपत्र(एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रूपमा वितरण गर्ने बताएकी छन् । शनिबार ( २० वैशाख ) एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्ट्र मन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रूप दिँदै कार्ड वितरण हुने कुरातर्फ सङ्केत गर्दै यस्तो बताएकी हुन् ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा शनिवारदेखि एकता महाधिवेशन सुरु भएको हो। उक्त महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरूले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्र मन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन् ।
परराष्ट्र मन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सबै गैर आवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा वनेको उच्चस्तरीय समितिको पहलमा काठमाडौँमा एकता महाधिवेशन सुरु भएको हो ।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले एनआरएनए परिचय पत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् । उनले सर्वोच्चमा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रूपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैर आवासीय नेपालीहरू एक भएर अघि बढ्न पनि सुझाव दिइन् । उनले अव एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रूपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरूमा विवाद भन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे । उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भारत र चीनमा जसरी एनआरएनएले लगानी गरेर देश विकास सुरुवात गरे नेपालले पनि यसबाट सिक्नुपर्ने पनि बताए ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरूको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए ।
कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए । उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अव युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।
उनले निर्वाचन विवादरहित बनाउन सदस्यता देखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिछ । सोमबार कार्यक्रम समापन हुने छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend